Logo

अत्यावश्यक उद्योग खोलिने



काठमाडौँ, २५ वैशाख । सरकारले लकडाउन (बन्दाबन्दी)लाई जेठ ५ गतेसम्म निरन्तरता दिँदै कृषि, पशुपक्षी, औषधि, खाद्यान्न र विकास निर्माणसँग सम्बन्धित उद्योग खोल्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि निश्चित मापदण्ड अपनाएर अत्यावश्यक क्षेत्रका उद्योग, बैङ्क तथा वित्तीय संस्था र सार्वजनिक सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बुधबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय गौरवका तथा सहरी विकास आयोजनालाई स्वास्थ्य सजगतासहित निश्चित मापदण्ड अपनाएर खुलाउने निर्णय गरेको जानकारी दिएका छन् । यस्तै सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानसहित सीमा क्षेत्रको आवागमनमा लगाउँदै आएको रोकलाई जेठ १८ गते मध्यरातसम्मका लागि थप गरेको छ । यद्यपि, औषधि, खाद्यान्न लगायत अत्यावश्यक वस्तुको आयात खुला राखिएको छ ।

सरकारले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु, कृषि तथा पशुपक्षी, औषधि, विकास निर्माणसँग सम्बन्धित र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४४ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यस्ता उद्योग तथा व्यवसाय सञ्चालन गर्दा सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड, सामाजिक दूरी लगायत सुरक्षा अनिवार्य अपनाउनुपर्ने प्रावधान राखिएको प्रवक्ता डा. खतिवडाले जानकारी दिएका छन् । सङ्क्रमणको जोखिम मूल्याङ्कन र स्वास्थ्य मापदण्ड पूरा गरी स्थानीय कोभिड–१९ सङ्क्रमण जोखिम व्यवस्थापन केन्द्रले सोको व्यवस्था गर्ने जनाइएको छ ।

यस्ता उद्योग सञ्चालन गर्दा श्रमिक र कार्यरत अन्य जनशक्ति अनिवार्य रूपमा कार्यस्थलभित्रै बस्नुपर्ने व्यवस्थासमेत गरिएको छ । प्रवक्ता डा. खतिवडाका अनुसार राष्ट्रिय गौरवका आयोजना, सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित विद्युत्, सिँचाइ, खानेपानी आयोजना, विमानस्थल, सडक, पुल, सरकारी भवन निर्माण तथा प्रवलीकरणजस्ता आयोजना सञ्चालन गर्न पाइने भएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्