Logo

विकासको काम सुचारु हुने



काठमाडौँ, २५ वैशाख । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लक डाउनका कारण रोकिएको काठमाडौँ उपत्यकाका विभिन्न आयोजनाहरूको काम सुचारु हुने बताएका छन् ।

उनले उपत्यकाभित्रका विभिन्न विकासे आयोजना सञ्चालनका लागि स्थानीय प्रशासनसँग अनुमति लिइएको जानकारी दिएकाा छन् । बुधबार चमती एकीकृत जग्गा एकीकरण विकास आयोजनाको निरन्तरताका लागि निर्माण सामग्री आयात र सञ्चालनका लागि अनुमतिपत्र हस्तान्तरण गर्दै मन्त्री मानन्धरले तोकिएको समयभित्र आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । उक्त आयोजना २०५९ देखि सुरु भए पनि हालसम्म निर्माणाधीन अवस्थामै रहेपछि सरकारले चासो दिन थालेको हो । मन्त्री मानन्धरले लक डाउनका समयमा पनि सामाजिक दूरी कायम गर्दै विकास आयोजना सञ्चालन गर्नुको विकल्प नरहेको बताउँदै कोरोना महामारीसँग जुध्दै विकासलाई पनि निरन्तरता दिइने स्पष्ट पारेका छन् ।

मन्त्री मानन्धरले अब विकासका गतिविधिलाई पनि तीव्रता दिइने र बेरोजगार बनेका श्रमिकलाई काम दिन सकिए आर्थिक गतिविधि पनि चलायमान हुने बताएका छन् । मन्त्री मानन्धरले आगामी वर्ष कम्तीमा एक लाख फुस र खरको छानो हटाएर जस्तापाताको छानो राखिने जानकारी दिए । यस्तै, १६५ वटै निर्वाचन क्षेत्रका सहरी क्षेत्रको स्तर उन्नतिका लागि चक्रपथको परिकल्पना गरिएको मन्त्री मानन्धरले जानकारी दिए । यस्तै, उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्ने गरी प्रस्तावित टोखा–छहरे सुरुङमार्गदेखि निर्माणाधीन नौबिसे सुरुङमार्गसम्म वैकल्पिक चक्रपथसहितको नयाँ सहर बनाउने तयारीमा मन्त्रालय रहेको छ ।

दुवै सुरुङ मार्गको मुखमा तथा ट्रयाकको शून्य बिन्दुमा सुख्खा बन्दरगाह निर्माणबारे पनि छलफल चलिरहेको मन्त्री मानन्धरले जानकारी दिए । सहरी विकास मन्त्रालयले बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल्डको कामलाई पनि निरन्तरता दिने भएको छ । त्यसका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ । यस्तै, बालाजु बाइपास क्षेत्रका सडकहरू विस्तारको कामलाई पनि तीव्रता दिइएको छ । कार्यक्रममा चमति एकीकृत आयोजनाका ठेकेदार दावा लामाले तोकिएको मितिमै आयोजना समापन गर्ने प्रतिबद्वता जनाएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्