Logo

ओलीको आक्रोसले स्थायी कमिटी बैठक अनिश्चित



काठमाडौं, बैशाख २५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबारको सचिवालय बैठकमा ‘एक व्यक्ति एक जिम्मेवारी’ कार्यान्वयन गर्नुपर्ने विषयमा विवाद भएको छ। स्थायी कमिटी बैठकका अजेन्डा तय गर्न सचिवालय बैठक बसेको हो। सचिवालय बैठकले अजेन्डा तय गर्न नसकेपछि स्थायी कमिटी बैठक पनि अनिश्चित बनेको छ। यसअघि शनिबार बसेको सचिवालय बैठकमा बिहीबार स्थायी कमिटी बैठक बोलाउने सहमति भएको थियो।

‘एक व्यक्ति एक जिम्मेवारी’ कार्यान्वयन गर्ने विषय स्थायी कमिटीको अजेन्डा बनाउनुपर्ने विषय उठेपछि सचिवालय बैठक कार्यसूचीमा प्रवेश नगरीकन टुंगिएको हो।

सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध अन्य नेताहरूले जथाभाबी बालेको र कोठे बैठक गरेकोे भन्दै असन्तुष्टि पोखेका थिए। ‘जब स्थायी कमिटी बैठकमा एक व्यक्ति एक जिम्मेवारी कार्यान्वयनको विषय अजेन्डा बन्नुपर्ने कुरा सचिवालय बैठकमा उठ्यो तब अध्यक्ष ओली आक्रोशित हुँदै उठेर हिँड्नु भयो’, स्रोतले भन्यो, ‘उहाँ सचिवालय बैठकको कार्यसूचीमै प्रवेश गर्न चाहनु भएन।’

बैठक सुरुमै ओलीले आफ्ना धारणा राखेका थिए। उनले सरकारको प्राथमिकतामा बजेट रहेको र संसद् अधिवेशन पनि बोलाइएकाले स्थायी कमिटी बैठक छोटो बनाउनुपर्ने बताएका थिए। उनले तत्काल स्थायी कमिटी बैठक अनिवार्य पनि नभएको बताएपछि विवाद सुरु भएको थियो। बैठकमा ओलीले आफूविरुद्ध कहिले खुमलटार, कहिले कोटेश्वर त कहिले हात्तीवनमा बैठक गरिएको र यस्तो कार्य पार्टी अनुशासनविपरीत भएको बताएपछि भनाभन जस्तै भएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्