Logo

बजेट घट्न सक्ने



काठमाडौँ, २५ वैशाख । कोरोना महामारी (कोभिड १९)को असर मुलुकको भौतिक विकासमा समेत पर्ने भएको छ । महामारीका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा कटौती हुने देखिएको छ ।

महामारीका कारण सरकारको लक्षित राजस्व सङ्कलनका साथै वैदेशिक ऋण तथा अनुदान सहयोगमा समेत कमी आउने देखिएको छ । विगतको तुलनामा आर्थिक वर्ष २०७७/७८ को कुल बजेटको आकार नै सानो हुने भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमा समेत कमी आउने देखिएको सो मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङका अनुसार कोरोना महामारीका कारण चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार सानो हुनेछ । बजेटको आकारमा कमी आउने भएकाले आर्थिक वर्ष २०७७/७८ मा नयाँ कार्यक्रम थप हुने सम्भावना कम रहेको उनले स्पष्ट पारेका छन् ।

आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट तथा कार्यक्रमबारे मन्त्रालयले घनिभूत रूपमा छलफल अगाडि बढाएको बताउँदै उनले आव २०७७/७८ को ‘बजेट सिलिङ’ अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । आर्थिक वर्ष २०७६/७७ को कुल बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड रुपियाँ रहेकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक खर्ब ५६ अर्ब रुपियाँ बजेट विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७७/७८ को लागि करिब एक खर्ब ८२ अर्ब रुपियाँको ‘बजेट सिलिङ’ तयार गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले जानकारी दिएका छन् ।

‘बजेट सिलिङ’अनुसारको बजेट विनियोजन हुनसक्ने सम्भावना नरहेको उनले स्पष्ट पारेका छन् । मन्त्रालय स्रोतका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि ८० अर्बदेखि बढीमा एक खर्ब रुपियाँसम्म बजेट विनियोजन हुनसक्ने सम्भावना छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्