Logo

बुद्धका उपदेश परिपालन गरेमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिन्छः राष्ट्रपति



काठमाडौँ, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहनुभएका शान्ति र अहिंसाप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेका छन् ।

आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा उनले बुद्धजयन्तीको शुभकामना सन्देशमा व्यक्त गरेका छन् । बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड९१९)को महाविपत्तिबाट सम्पूर्ण विश्वले शीघ्रातिशीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

बन्दाबन्दी पालना गरी उभौली मनाइने अपेक्षा

राष्ट्रपति भण्डारीले नेपालका आदिवासी किराँत समुदायको पवित्र एवं महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्