काठमाडौं, २५ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक आजका लागि तय गरिएपनि अचानक स्थगित भएको छ । बैठक स्थगित गरिएको भन्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीप्रति उनको विपक्षमा रहेका स्थायी समिति सदस्यहरु असन्तुष्ट भएका छन् ।
आजको बैठकका लागि आवश्यक तयारी अध्यक्षको प्रस्ताव दस्तावेज समेत टुंगो लागिसक्दा स्थगित भएको हो । यसका पछाड ओलीले आफूविरोधीको रणनीति बुझ्नु नै रहेको बुझिएको छ ।
बैठकमा एक व्यक्ति एक पदको विषय गम्भीरताका साथ उठाउन लागिएको थियो । पार्टी नेतृत्व तह देखि तल्लो तहसम्म एउटै व्यक्तिले धेरैवटा पद ओगटेको विषय जोडतोडका साथ उठ्ने गरेको छ । प्रधानमन्त्री ओली स्वयं प्रधानमन्त्री र पार्टी अध्यक्ष छन् । उनले कुनै एक पद त्याग्नुपर्ने बैठकको एजेन्डाका रुपमा बहुमत संख्याका स्थायी कमिटि सदस्यहरुले उठाउने तयारी गरिएका थिए । उनीहरुमध्ये अधिकांश अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहका छन् ।
नेकपा स्थायी समिति बैठक स्थगनलाई लिएर बहुमत स्थायी समिति सदस्य असन्तुष्ट भएका छन् । उनीहरुले विधान विपरित पार्टीलाई चलाउन खोजेको भन्दै आपत्ती समेत जनाएको बुझिएको छ । नेकपाभित्र एक तिहाई स्थायी समिति सदस्यले बैठक डाक्न माग गरेमा अध्यक्षले बैठक डाक्नुपर्ने व्यवस्था छ ।
यसपटक स्थायी कमिटि बैठक ओलीका लागि निकै चुनौतीपूर्ण हुने अपेक्षा गरिदै आएको छ । सचिवालयमा उनको राजीनामा मागिएपनि सत्ता संकट तत्काललाई टार्न ओली सफल भएका छन् । तर, स्थायी कमिटि बैठकमा उनी अल्पमतमा छन् । फेरि प्रचण्ड र माधवकुमार नेपाल मिलेमा ओली अप्ठ्यारोमा पर्न सक्छन् । एक व्यक्ति एक पद उनका लागि सबैभन्दा चुनौतीपूर्ण हुनसक्छ । यो एजेन्डा बलियो रुपमा अगाडि बढ्यो भने ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नुपर्ने हुनसक्छ ।
ओली निकट नेताहरु मुख्यमन्त्री र प्रदेश इञ्चार्ज समेत छन् । मन्त्री रहेकाहरुले पार्टीको विभिन्न कमिटि र विभागको जिम्मेवारी लिएका छन् । एक व्यक्ति एक पदको एजेन्डा उनीहरुका लागि पनि चुनौतीपूर्ण हुनसक्छ ।
एक व्यक्ति एक पद अनुसार प्रचण्ड कार्यकारी अध्यक्ष, माधवकुमार नेपाल अध्यक्ष र ओली प्रधानमन्त्री मात्र बन्ने गरी तयारी भएकोमा त्यसलाई ओलीले चुनौती दिन थालेका हुन् । उनले स्थायी कमिटि बैठक धकेल्नुको पछाडि यो एजेन्डालाई विफल पार्ने उद्देश्य पनि देखिएको छ ।
यसैगरी, ओलीले आफूलाई धोका दिएको भन्दै बामदेव गौतम असन्तुष्ट भएका छन् । उनी निकट स्रोतका अनुसार अब बामदेवले ओलीलाई पत्याउन नसक्ने निष्कर्ष निकालेका छन् । ओलीले सचिवालय बैठकमा बामदेवलाई प्रतिनिधिसभा सदस्य बनाएर प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव राखेका थिए । सचिवालयले अहिलेलाई बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन आवश्यक प्रक्रिया थाल्ने निर्णय समेत गरेको छ । तर, गौतमलाई रोक्न ओली नै सक्रिय रहेको विषय उठ्न थालेको छ ।-File Photo