Logo

कोरोना महामारीविरुद्ध जुध्न बुद्धजयन्तीले प्रेरित गर्नेछ : प्रधानमन्त्री ओली



काठमाडौँ, २५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध जुध्न र मानवताको पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्न बुद्धजयन्तीले थप प्रेरित गरिरहेको समेत उल्लेख गरेका छन् ।

आज २५६४औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको पनि बताए ।

संयुक्त राष्ट्रसङ्घको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको जनाउँदै उहाँले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतमबुद्धप्रति सम्मानसमेत व्यक्त गरेका छन् ।

सिङ्गो विश्व कोरोना भाइरसको सङ्क्रमण र महामारीबाट प्रभावित नभएको भए अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको भव्य आयोजना गरिरहेका हुने थियो भन्दै प्रधानमन्त्री ओलीले त्यस अवसर र सफलताबाट हामी बञ्चित हुनुपरेको उल्लेख गरेका छन् । “गत साल भियतनामको हनोइबाट यसको घोषणा गरेबमोजिम अन्तर्राष्ट्रिय वैशाख दिवसको तयारीमा लागिरहेका हुनेथियौँ ।

नेपाल भ्रमण वर्ष २०२० को एउटा महत्वपूर्ण कार्यक्रमका रूपमा लुम्बिनी चहलपहलमय हुने थियो”, उनले सन्देशमा भने, “भैरहवाको नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा कतिपय चार्टर्ड फ्लाइट अवतरण भइरहेका हुने थिए । बुद्धजयन्तीसँगै आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमले विश्व समुदायमाझ लुम्बिनी र नेपालको विशेष ध्यान खिचिएको अवस्था हुने थियो ।”

लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन सार्थक प्रयास जारी रहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, “हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीसँगै पर्यटकको आकर्षणको केन्द्रका रूपमा लुम्बिनीको विकासमा उच्च महत्व दिइरहेका छौँ ।”

प्रधानमन्त्री ओलीले लुम्बिनी सिद्धार्थ गौतमबुद्धको जन्मस्थलसँगै बुद्ध दर्शनको उद्गमस्थल रहेकाले विश्वको ध्यान जानु जरुरी रहेको बताउँदै सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पु¥याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय वैशाख दिवस (द डे अफ भेसाक) का रूपमा मनाउने घोषणा गरेको उल्लेख गरे ।

उहाँले यस वर्षको बुद्धजयन्ती राष्ट्रव्यापी लकडाउन भइरहेको र अन्तर्राष्ट्रिय उडान आवागमनसमेत रोकिएको बन्दप्रायः अवस्थामा मनाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्