महेश कुमार श्रेष्ठ
१. बिषय प्रवेश : बर्तमान युग अत्यन्तै ब्यस्त र प्रतिस्पर्धि रहेकोले मानिसलाई धेरै बिषयहरुले चिन्ता र तनावयुक्त बनाएको हुन्छ । लामो समय सम्म चिन्ता र तनावमा बस्दा मानिसलाई कुनैपनि कुरामा एबं बिषयमा एकाग्रता र ध्यान नहुनाले मानसिक समस्या समेत देखापर्न सक्दछ । अतएव: यस्ता समस्याहरु बाट बच्ने विभिन्न उपायहरु मध्य ध्यान पनि एउटा उपयुक्त तरिका हो । ध्यान गर्दा मानव मस्तिष्कमा मानिसलाई तनाव मुक्त गर्ने “सेरोटोनिन “(Serotonin) नामक रसायनको उत्पादन हुन्छ।
जुन रसायनले मस्तिष्कलाई चिन्ता र तनावमुक्त बनाउनका साथै कुनैपनि कुरामा एकाग्रता कायम राख्न मद्धत पुर्याउने हुदा पछिल्लो समयमा ध्यान गर्नेहरूको संख्यामा उल्लेख्य मात्रामा वृद्धि हुदै गईरहेको छ ।
२. लेखनको उद्धेश्य : यश लेखनको मुख्य उद्धेश्य ध्यानको अर्थ र महत्वको वारेमा जानकारि गराउनु हो ।
३. ध्यानको अर्थ: ध्यानलाई विभिन्न ढंगले व्याख्या गर्ने गरेको पाईए तापनि खासगरी कुनैपनि कुरामा वा बिषयमा एकाग्रता कायम गर्नुनै ध्यान हो । ध्यानले मानव मनमा रहेका वा भएका नकरात्मक सोच, बिचार तथा कुराहरु लाई सकारात्मक रुपमा रुपान्तरण गरि मनशान्त राख्ने काम गर्दछ ।
४. ध्यान बाट हुने फाईदाहरु: ध्यान निम्न समस्याहरुको निराकरण गर्न सहयोगि हुन सक्दछ।
(१) कमजोर मस्तिष्कलाई बलियो बनाउन,
(२) तनावलाई मु्क्त गराउन,
(३) रक्तचाप र मुटुमा कुनैपनि प्रकारको समस्या पर्न नदिन र भएका समस्यालाई निराकरण गर्न,
(४) मानसिक रुपमा चुस्त, दुरुस्त र स्वस्थ्य रहन ।
५. ध्यान गर्ने तरिकाहरु: शरिरको अवस्थानुसार उपयुक्त समय र स्थानको छनौट गरि निम्न तरिकाले ध्यान गर्न सकिन्छ ।
(१) सकभर खालि पेट्मा ध्यान गर्दा उपयुक्त हुने,
(२) ध्यान शुरु गर्नु भन्दा अघि एकछिन वार्म अप ब्यायम गर्ने,
(३) जमिनमा कम्बल वा म्याट बिछ्याएर पद्धमासन वा सुखासनमा आरामसाथ बस्ने,
(४) अांखा चिम्लिएर गहिरो लामो श्वास तान्ने र करिव २ सेकेन्ड रोकि ॐ … पुकारका साथ श्र्वासलाई छोडि शुरु गर्ने ,
(५) ध्यान जहिले पनि मन्दमुस्कानका साथ गर्ने ,
(६) जस्तोसुकै अबस्थामा पनि ध्यान गर्न सकिन्छ,
(७) कुर्सी,म्याटमा वा गुड्दै गरेको गाडिको सिटमा बसेर पनि ध्यान गर्न सकिन्छ ,
(८) एउटै स्थानमा दैनिक ध्यान गर्दा ध्यानको प्रगतिको लागि राम्रो,
(९) ध्यान गर्दा मेरुदण्डलाई सिधा राख्नुपर्छ ।
६. ध्यान गर्ने समयावधि: ध्यान यतिनै समय गर्नुपर्छ भन्ने निश्चित समयावधि नहुने हुदा आफुलाई मिल्ने समयमा जति समय पनि गर्न सकिन्छ।
(१) दैनिक कम्तिमा पनि ५ -२० मिनेट ध्यान गर्नु स्वास्थ्यको लागि लाभदायक मानिन्छ,
(२) तर ध्यान जति धेरै समय गर्न सक्यो त्यतिनै तनाव कम हुने र कुनै पनि बिषयमा एकाग्र हुन सहयोग पुग्ने हुन्छ ।
७. ध्यान गर्ने समय: बिहान, दिउसो, बेलुका र राति अथवा एकान्त स्थानमा कुनैपनि समयमा ध्यान गर्न सकिन्छ।अन्य समयको तुलनामा बिहानको ३बजे देखि ६/७ बजे र राति १० बजे पछिको समय उपयुक्त मानिन्छ ।
८. ध्यान कसलाई बढि आवश्यक ? सामान्यतया आफ्नो जिवनलाई सुखमय बनाउन जुनसुकै ब्यक्तिले ध्यान गर्नु उपयुक्त हुन्छ तापनि निम्न प्रकारका ब्यक्तिहरु लाई ध्यान बढि आवश्यक हुन्छ।
(१) अस्थिर मन भएका ब्यक्तिहरु,
(२) चन्चल मन हुने ब्यक्तिहरु,
(३) कुनै कुरामा एकाग्रता नभएका ब्यक्तिहरु,
(४) तनावयुक्त जीवन यापन गरिरहेका ब्यक्तिहरु
९. मानसिक स्थिति: ध्यानको लागि निम्नानुसारको मानसिक अवस्था हुनु पर्दछ ।
(१) सात्विक वा सादा भोजन,
(२) शारिरिक स्वच्छता,
(३) सद्गुणको पालना,
(४) मनमा शान्ति
१०. निश्कर्ष : नियमित ध्यान गर्नाले मानिसलाई कुनै पनि कुरा वा बिषय प्रति एकाग्र हुन सहयोग गर्नुका साथै चिन्ता र तनावमुक्त बनाउने हुनाले मानसिक रुपमा स्वस्थ्य राख्न सहयोग गर्दछ । हामिमा बढि चिन्ता र तनाव भई त्यसलाई समयमै ब्यवस्थापन गर्न नसक्दा विभिन्न प्रकारका मानसिक र शारिरिक रोगहरु लाग्न सक्ने हुन्छ । त्यस्ता रोगबाट हुन सक्ने क्षति तथा जोखिमलाई नजरअन्दाज नगरि आफुलाई सदैव ध्यानको माध्यमद्वारा नकरात्मक बाट सकरात्मक सोचमा रुपान्तरित गर्नु पर्दछ । तसर्थ ध्यान बर्तमान समयमा मानव जातिलाई निरोगि,सुस्वास्थ्य, दिर्घायु , शान्ति र सुखमय जिवनयापन गराउन अत्यन्तै उपयोगि र सहयोगि सि्द्ध भईरहेको कुरालाई हृदयङ्गम गरि यसलाई सवैले उपयोग गर्नु फलदायी हुनेछ ।
धन्यवाद !!!
प्रेरणा:
खडानन्द चौधरी
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक(अ.प्रा.) : आदरणिय सरबाट मलाई ३ बर्ष अगाडि एपिएफ क्लबमा ध्यानको बारेमा प्रत्यक्षरुपमा जानकारी गराई ध्यान गर्न प्रेरित गर्नु भएकोले ३ बर्ष देखि निरन्तर रुपमा ध्यान गरिरहेको ब्यहोरा जानकारि गराउदै उहा प्रति हार्दिकआभार ब्यक्त गर्न चाहान्छु । धन्यवाद!!!
सन्दर्भ सामाग्रीहरु:
(१) आर्ट अफ लिभिङ्ग बाट प्रकाशित लेखहरु,
(२) ध्यान गुरु बिकास खनालका विभिन्न
प्रबचनहरु,
(३) थाहा खबर पत्रिका २०७४ पौष १४
( लेखक श्रेष्ठ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक(अ.प्रा.) हुन । )