Logo

द्वन्द्वकालीन मुद्दामा नेताहरुलाई फसाउनेसम्मका योजनाहरु प्रधानमन्त्रीका वरीपरीबाट भए- हरिबोल गजुरेल



काठमाडौं, २५ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य हरिबोल गजुरेल अध्यक्ष प्रचण्ड निकटस्थ हुन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनुशासनहीन काम भइरहेको आरोप लगाउँछन् । पार्टी स्थायी कमिटि बैठक स्थगित भएको र विवाद अझै चलिरहेको अवस्थामा गजुरेलसँग यसै सेरोफेरोमा रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीः
स्थायी समिति बैठक किन अनिश्चित ढंगले स्थगित भयो ?
बैठक त राख्नै पर्छ । बैठकै नराखिकन बसेर समस्या हल हुँदैन किन भने हाम्रो संसद पनि चल्दैछ । बजेट अधिवेशन अगाडि बढ्दैछ । यसका लागि सहज बाटाहरु नबनाई त्यहाँ जाँदा त्यसले झन् भद्रगोल स्थिति सृजना गर्दछ । त्यसकारण पनि बैठकको सुरुवात त हुनुपर्छ ।
बैठक त अब हिजो दुईजना अध्यक्ष मिलेर नराख्ने भनिसक्नुभयो नि ?
बैठकै नराख्ने त भन्नुभएको छैन । बैठक त राख्नैपर्छ । १५ दिनभित्र राख्नुपर्ने नियम हो, त्यो समय पनि गुज्रिइसकेको छ । एकतिहाई सदस्यहरुले बैठकको माग गरेपछि त्यसको १५ भित्र राख्नपर्ने नियम छ । प्रधानमन्त्री आफैले पहिला जेजस्ता कमीकमजोरी भए अब त्यसलाई सुधारेर अगाडि बढ्छु भने पनि विधि, पद्धतिको त पालना गर्नुपर्यो नि ।
प्रधानमन्त्री त अहिले बैठक राखेर तपार्इंहरुका असन्तुष्टि र आलोचना सुन्नेपक्षमा हुनुहुन्न नि ?
आलोचना त बरु के गर्ने कसरी गर्ने एउटा मोडालिटी बनाउन सकिन्छ । तर, बैठक राख्नुपर्यो नि । बैठकबाटै भागेर समस्या समाधान हुन्छ त ।
अहिले पार्टीको स्थायी समिति बैठक राख्ने बेला होर कोरोनासँग लड्ने होइन ?
कोरोनाविरुद्ध लड्ने पनि त पार्टीमा एकरुपता कायम गर्नुपर्यो नि । सचिवालयमा प्रधानमन्त्रीले जे राख्नुभयो, त्यो स्प्रिटलाई त्यहाँ पनि राख्नुपर्यो । संसद्मा पनि भोलि त्यहाँ प्रतिपक्ष आउँछ, ऊसँग कसरी फेस गर्ने ? त्यसको बारेमा बैठक बसेर एउटा मोडालिटी बनाउनुपर्दैन ? पार्टी एउटा विश्वास गर्न सहज वातावरण नबनाइकन भद्रगोल तरिकाले अगाडि बढेर कसरी हुन्छ ?
तपाईहरुले कोरोनाविरुद्ध लड्ने बेला ‘एक व्यक्ति एक पद’को कुरा उठाएर प्रधानमन्त्रीलाई राजीनामा दिन दबाब दिइरहनुभएको छ नि ?
हामीले अहिले प्रधानमन्त्रीलाई राजीनामा दिनु भनेको छैन । हामीले भनेको त कोरोनाविरुद्ध लड्ने प्रभावकारी वातावरण बनाउन बैठक बोलाउनुपर्यो भनेका छौं । अर्को अध्यादेश आइसकेपछि पार्टीमा अविश्वासको वातावरण सिर्जना भएको त्यसलाई स्पष्ट पार्नुपर्यो भनेका छौं । अरु एजेन्डा भनेको सचिवालयका हुन्छन् । कुनै व्यक्तिका होलान् । अहिलेको बैठकको मुख्य एजेन्डा दुईवटा छन् । पहिलो अध्यादेश किन ल्याउनुपर्ने आवश्यकता भयो ? अर्को कोरोनाविरुद्ध लड्न कसरी प्रभावकारी वातावरण सिर्जना गर्ने त्यसको बारेमा व्यापक रुपमा छलफल हुनुपर्छ ।
त्यसोभए तपाईंहरुले ‘एक व्यक्ति एक पद’को कुरा उठाउनुभएको छैन ?
त्यो त पहिलादेखि उठिरहेको कुरा हो नि । अहिले मात्रै होइन नि । प्रधानमन्त्रीले विगतमा भएका कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने भनेपनि अहिले सचिवालयमा ‘एक व्यक्ति, एक पद’ को कुरा उठेको हो ।
हिजो त प्रधानमन्त्री आफै बैठकबाट बाहिरिनुभयो नि ?
आक्रोशित किन हुनु उहाँले गल्ती मेरो हो । अब मिलेर जानुपर्छ । पार्टीको कामलाई प्रभावकारी बनाउनुपर्छ । म साथीहरुको सल्लाहअनुसार चल्छु । भन्ने कुरा भइसकेपछि काही न काही त विगतमा भएका त्रुटिहरुको कुनै न कुनै ढंगले करेक्सनतिर त जानुप¥यो । सबै आफ्नै मनभित्र यथावत राखेर जे–जे भयो भयो अब मिलेर जाऔं भनेर मात्रै त हुँदैन । हिजो भएका गल्तीकमजोरीको जिम्मा म लिन्छु भन्दा सच्याउन मिल्नेलाई त सच्याउँदा भयो । एक व्यक्ति एक पद’को कुरा गर्दा सबैतिर सम्भव नभए पनि यहाँ–यहाँ गरौं भनेर जाँदा पनि हुन्छ नि । त्यसलाई त उहाँले स्पष्ट राख्नुपर्यो नि ।
केपी ओलीको लागि ‘एक व्यक्ति एक पद’को कुरा आजको आवश्यकता को कि होइन ?
छ कि छैन भन्ने कुरा बैठकमा ल्याउनुपर्यो । सचिवालयमा त्यो कुरा उठिसकेपछि स्थायी समितिमा पो ल्याउनुपर्यो त । ‘लौ यस्तो, यस्तो कुरा आयो । अहिले उपयुक्त छैन’ भनेर ।
तर, हिजोको सचिवालय त बैठकमा त एजेन्डै बन्न सकेन नि ?
प्रधानमन्त्री आफैले भन्नुभएको हो, ‘अब सच्चिएर जान्छु, गल्ती, कमजोरी मेरो भयो । अबदेखि पार्टीको निर्देशन अनुसार सरकारमा चल्छु’ भनेर । त्योबाट भागेपछि पार्टीको निर्देशन र सल्लाह अनुसार कसरी भयो त ?
तपाईंहरु चाहीं बन्द कोठाभित्र बसेर प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गर्नुहुन्छ नि ?
बन्द कोठाभित्र बसेर हामीले केही गरेको छैन ।
तपाईंहरु गुटको कोठे बैठक राख्नुहुन्छ नि ?
हामीले बैठकमा कसरी प्रस्तुत हुने भनेर सल्लाह गरेको हो कुनै गुटबन्दी गरेको होइन । बैठकको माग गर्ने हाम्रो अधिकार हो । बैठकमा दुईवटा एजेन्डा राखेर छलफल गर्नुपर्छ भनेको हो । त्यसमा प्रधानमन्त्रीले विश्वासको वातावरण बनाउनुभयो भने हेरौं त्यसपछि के हुन्छ भन्ने कुरा हो । त्यसरी बैठकबाटै भागेर चाहीं समस्याको समाधान हुँदैन ।
प्रधानमन्त्रीले त मेरोविरुद्ध जेपनि भन्नुभयो नि ?
बोल्नको निम्ति त अहिले जो पनि बोलिराखेको छ । अहिले कसैलाई पनि अंकुश छैन । जसलाई जे मन लाग्यो त्यही बोलिएको छ । दुई अध्यक्षलाई पनि अंकुश छैन, अरुलाई अंकुश छैन । त्यो प्रवृत्तिलाई पनि एउटा विधिमा लगेर नयाँ विधिको विकास गरौं भनेर हामी बीस जनाले त्यसमा पनि छलफल गरेका छौं । अब नयाँ विधिमा जानुप¥यो, पुरानो विधिले धानेन भन्ने कुरा मैले पनि राखेको छु । अहिले त पार्टी एकदम अराजक भयो । त्यसको समाधान त खोज्नुप¥यो । त्यसबाट नयाँ विधि र पद्धतिबाट चल्ने गरी उपाय त निस्किन्छ ।
प्रधानमन्त्रीको त आफूविरुद्ध विभिन्न ठाउँमा बैठक बसेर पार्टीलाई छिन्नभिन्न पार्न खोजेको आरोप छ नि ?
प्रधानमन्त्री आफू बालुवाटारमा बसेर मान्छेहरुलाई छुट्टाछुट्टै बोलाएर सिक्नेचर गराउनुहुन्छ त्यो चाहीं केही भएन । उहाँले त्यसो गरेको चाहीं वैधानिक भयो । त्यसैगरी अरुले पनि विभिन्न ठाउँमा बसेका छन् । बैठक गरेको छन् त्यसलाई त कसले रोकेको छ र ? त्यसलाई कस्ले रोक्ने ? कि उहाँले रोक्न सक्नुपर्यो ।
हिजो त स्थायी समिति बैठकको एजेन्ड बनाइ प्रधानमन्त्री त हिड्नुभयो नि ?
बैठक बस्नुप¥यो बैठकको लागि एजेन्डा बन्नुपरो । उहाँले त्यो बैठकमा आएर आफ्ना कुरा स्पष्ट राख्नुपर्यो ।
प्रधानमन्त्रीले त पार्टीमा अनुसासनहीनता बढ्यो भन्नुभयो नि ?
अनुशासनमा उहाँ नै बस्नुभएन नि । पहिला त अनुशासनमा बस्ने उहाँ हो । आफू चाहीं नबस्ने, अनुशासनमा बसेको भए त्यसरी अध्यादेश आउँछ त ? पार्टीमा सल्लाह नै नगरी त्यस्तो अध्यादेश ल्याउनुहुन्छ ? अध्यक्ष र प्रधानमन्त्रीले अनुशासन पालना गर्नुनपर्ने हामीले चाही पालना गर्नुपर्ने ?
तपाईंहरुले पनि प्रधानमन्त्रीलाई हटाउँछु भन्नुभयो नि ?
त्यो त माथिका लिडरहरुले गर्नुभएको हो । उहाँहरुले अनुशासनहीन काम गरिदिएपछि अरुले किन अनुशासन मान्छन् । उहाँहरु त गार्जेन हो नि अनि गार्जेनले नै त्यसो गरेपछि अरुले किन मान्छन् त । अनि अरुलाई दोष दिएर हुन्छ ?
प्रधानमन्त्रीले त तपाईंहरुले गुटबन्दी गरेकोमा असन्तुष्टि व्यक्ति गर्नुभएको छ नि ?
उहाँका वरीपरी धेरै द्वन्द्वकालीन मुद्दामा नेताहरुलाई फाउनेसम्मका छलफल र योजनाहरु हुन्छन् भन्ने हामीले सुनेका छौं । द्वन्द्वकालीन मुद्दामा त्यही फसाउनुपर्छ भन्नेसम्मका छलफल हुन्छन् भनेपछि अन्त के के छलफल भयो भन्ने कुराको के अर्थभयो र ।
त्यसोभए प्रधानमन्त्रीको विकल्प तपाईंहरुले खोजेको छैन सही हो ?
अहिले कोरोनाविरुद्धको संघर्षमा हामी छौं । यो बेलामा प्रधानमन्त्रीलाई हटाउनुपर्छ भनेर हामीले भनेका छैनौं । तर, उहाँले विश्वासको वातावरण बनाउनुपर्छ । उहाँबाट भएका कमीकमजोरीको करेक्सन गर्नुपर्छ । यही तरिकाले उहाँ अगाडि जानुहुन्छ भने हामीले त भन्नुपर्ने हुन्छ ऋषिजी । उहाँबाट पहिलाका कमीकमजोरी सच्चिएनन् भने हामी वाध्य हुनुपर्छ । अहिले त त्यहाँ पुगेका छैनौं । त्यो कुरा उहाँले बुझ्नुपर्छ ।
जे भएपनि हिजो भनाभन त भयो नि ?
कम्युनिस्ट पार्टीभित्र भनाभन हुन्छ । बहस, छलफल हुन्छ । नराम्रो कुरा हो र त्यो ? ‘बादेबादे जयत्य तत्वबोध’ बहस र छलफलभित्रबाट किष्कर्ष निस्किने कुरा हो ।
माधव नेपालले छलफल गर्ने विषयमा आपत्ति जनाउन पाउनुहुन्न भन्न मिल्छ बैठकमा ?
उहाँले पनि भन्नुभएको छ । हामीले पनि भनेका छौं । गुटबन्दी नगरौं भनेर । प्रधानमन्त्रीले भन्नुप¥यो नि, ‘म पनि गटबन्दी गर्दिँन, तपाईंहरु पनि नगर्नुहोस’ भनेर त्यसमा तयारै छौं । उहाँ चाही बालुवाटारमा बसेर मजाले गुटबन्दी गर्ने अनि अरुलाई चाहीं तिमीहरुले गुटबन्दी ग¥यौं भन्न मिल्छ ?
अब बस्ने स्थायी बैठकमा कुरा मिल्छ ?
मिलाउनै पर्छ नि त्यसको अर्को के उपाय छ र ।
विवादको समाधान के त ?
खुलस्थ रुपमा छलफल गर्दै जाँदा सबै मिल्छ ।
तर, स्थायी समितिको बैठक चाहीं रोक्न मिल्दैन ?
त्यो त पटक्कै मिल्दैन ।
कतिदिनभित्र गर्ने त अब ?
चाँडोभन्दा चाँडो हुनुहुपर्छ ।
बजेट अधिवेशनपछि गर्दा के हुन्छ ?
अहिले सुरुआत गर्नुपर्छ कहिलेसम्म लाने भन्ने भोलि हुन्छ ।
तपाईंहरु आपसमा झगडा गरेर जनतालाई किन गाईजात्रा देखाउनुहुन्छ ?
बैठक बस्दा त सरकारलाई काम गर्न सहज हुन्छ नि । कोरोनाका कारण धेरै युवाहरु व्यरोजगार भएर विदेसबाट आउँदैछन् । तिनलाई कसरी मेनेज गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ ।
तपाईंहरुको आन्तरिक झगडाले त जनतामा राम्रो सन्देश गएन नि ?
झगडाको बीऊ त अध्यादेश ल्याएर प्रधानमन्त्रीले नै रोपिदिनुभयो नि । हामी त कोरोनाविरुद्धमा लडिरहेका थियौं । बीचमा अध्यादेश ल्याएर आफैले विषयान्तर गरिदिनुभयो नि ।-File Photo



प्रतिक्रिया दिनुहोस्