Logo

श्रेष्ठको अपिल : ‘नेकपालाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनुपर्छ’



काठमाडौं, २५ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले पार्टीलाई फुट र बिर्सजनको खतराबाट बचाउन अपिल गरेका छन् । आज सामाजिक सञ्जाल ट्विटरमार्फत प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् । नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेता श्रेष्ठले यस्तो ट्विट गरेका हुन् ।

उनले भनेका छन्,”अतः नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपा लाई फुट र बिसर्जनको खतरावाट बचाऔं,एकता र रुपान्तरणको पक्षमा उभिऔं। आ(आफ्नो ठाँउबाट भुमिका खेलौँ,योगदान गरौं। पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन्।नीजि स्वार्थ त्यागौं,यो काम पुरा गरौं।”

त्यतिमात्रै नभई प्रवक्ता श्रेष्ठले गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईले नेपाली कांग्रेस एक राख्न पार्टी परित्यागसम्म गरेको कुरा स्मरण गराएका छन् । उनले थप भनेका छन्-“गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्याग सम्म गर्नुभयो।त्यो कदम ठीक थियो कि थिएन,बहस होला।तर पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो।हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर पार्टीलाई फुटबाट मात्र होइन,बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ।”

श्रेष्ठले गरेको अर्को ट्विटमा यस्तो लेखिएको छ,”समाजवाद सत्ताप्राप्ति वा सत्तासञ्चालनमा सिमित अवधारणा होइन।यो त शोषित/श्रमजीवी वर्ग र अन्ततःसिङ्गै मानवजातीको मुक्तिको परियोजना हो।सत्ता उक्त उदेश्यका निम्ति साधन र जिम्मेवारी हो।यो सत्यलाई आत्मसात नगर्ने हो भने हामी मौका नपाएर बेईमान नभएका तुच्छ अवसरवादीमा परिणत हुनेछौं। के हुने ?” File Photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्