Logo

सुदूरपश्चिम प्रदेशमा किट अभावले दुई दिनदेखि कोराना परीक्षण प्रभावित



भीमदत्तनगर, २६ वैशाख : सुदूरपश्चिम प्रदेशमा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि प्रभावित बनेको छ ।

पिसिआर विधिबाट परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षण रोकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट परीक्षणका लागि आवश्यक किट पठाउने कुरो छ”, उहाँले भन्नुभयो, “आज रातिसम्म आइपुग्ने अनुमान छ ।”

किट अभावकै कारण धनगढीस्थित पशुपक्षी अन्वेषण प्रयोगशालामा केही समयअघि स्थापना गरिएको आरटी–पिसिआर मेशिनबाट कोरोना परीक्षण हुँदै आएको थियो । “किट अभावका कारण प्रयोगशालामा ल्याइएका ५५ वटा स्वाबको नमूना जाँचसमेत हुन सकेको छैन”, सम्पर्क व्यक्ति जोशीले रासससँग भन्नुभयो, “हाल सुदूरपश्चिम प्रदेशमा पिसिआर प्रविधिबाट धनगढीमा मात्रै परीक्षण हुँदै आएको छ ।”

सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसिआर मेशिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो । “पहाडका ती दुई जिल्लामा सम्भाव्यता अध्ययनको काम सकिएको छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले त्यहाँबाट पनि जाँच गर्ने गृहकार्य गरेको छ ।” बिहीबारसम्म सुदूरपश्चिममा दुई हजार ९२३ जनाको स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । तीमध्ये पाँचजनाको नतिजा पोजेटिभ र बाँकी सबैको नतिजा नेगेटिभ आएको थियो । सङ्क्रमित पाँचमध्ये चारजना निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ ।

“परीक्षणका लागि यसअघि सुदूरपश्चिमा एक हजार किट केन्द्रबाट आएको थियो”, जोशीले भन्नुभयो, “अहिले अरु स्वास्थ्य सामग्रीको अभाव छैन ।” उहाँले मास्क, पिपिइलगायत स्वास्थ्य सामग्री मौज्दात रहेको बताउनुभयो । “१४ दिनपछि क्वारेन्टाइन बसेपछि कोरोना जाँच गर्ने निर्देशिकामा भनिएको छ”, उहाँले भन्नुभयो, “किट नहुँदा समस्या भएको छ ।” किट अभाव हुँदा परीक्षणदेखि नमूना सङकलनको कामसमेत प्रभावित बन्न पुगेको छ । पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पिसिआर किट र आरएनए एक्पेक्सन किट आवश्यक पर्छ ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पिसिआर र ¥यापिट टेष्टबाट हालसम्म १७ हजार ५२४ जनाको कोरोना परीक्षण गरिएको छ । सुदूरपश्चिमका नौवटै जिल्लामा स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा बिहीबारसम्म तीन हजार ३७४ जना बसिरहेको निर्देशनालयले जनाएको छ । “क्वारेन्टाइनमा बसेकाको स्वाब लिएर परीक्षण गर्न बाँकी छ”, जोशीले भन्नुभयो, “पहाडी जिल्लामा क्वारेन्टाइनमा थपिने क्रम बढिरहेको छ ।”रासस



प्रतिक्रिया दिनुहोस्