Logo

दार्चुलाको चार ठाउँमा बिओपी राख्न गृह मन्त्रालयको निर्देशन



दार्चुला, २६ वैशाख : भारतसँग सीमा जोडिएका दार्चुलाका चार ठाउँमा सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) राख्ने तयारी गरिएको छ ।

गृह मन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरी बलले दार्चुलाका थप नयाँ तीन ठाउँमा बिओपी राख्ने तयारी गरिएको हो । यसका लागि सशस्त्र प्रहरी बलले सो सम्बन्धी कार्ययोजनाका खाका तयार पारेर माथिल्लो निकायमा पठाइएको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक डम्मरबहादुर विष्टले बताउनुभयो ।

दार्चुलाको लेकम गाउँपालिका—३ लाली, मालिकार्जुन गाउँपालिका—७ जोलजीवी र व्यास गाउँपालिका—२ दुम्लिङमा सशस्त्र प्रहरीको बिओपी राख्न सकिने कार्ययोजना पठाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । यसअघि दार्चुलाको व्यास गाउँपालिका—१ छाङ्गरुमा बिओपी राख्ने निर्णय भइसकेको छ । सदरमुकाम खलङ्गामा रहेको सशस्त्र प्रहरीलाई भारतसँग प्रत्यक्ष सीमा जोडिएका क्षेत्रमा परिचालन गर्न लागिएको हो ।

कोरोना भाइरससँग लडिरहेको सरकारले सशस्त्र प्रहरीलाई देशभरिका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । सीमा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायीरूपमा बिओपी स्थापना गरी परिचालन गर्न लागेको हो । हाल सीमामा देशभरि १२१ बिओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५०० पु¥याउने तयारी गरेको छ ।

नेपालतर्फको सीमानाकामा भारतको ५३० बिओपी रहेका छन् । नेपाल सरकारले पनि सोही अनुपातमा बिओपी थप्ने तयारी गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले बिओेपी रहने स्थान, आवश्यक पूर्वाधारलगायतका विषयमा जानकारी गराइसकेको छ । कोरोना सङ्क्रमणका कारण सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बिओपीमा रुपान्तरण गर्ने सरकारी तयारी छ । सीमा सिलका लागि धनगढी महेन्द्रनगरबाट जिल्लामा ल्याइएको थप जनशक्तिलाई नयाँ स्थापना हुने बिओपीमै राख्ने कार्ययोजना छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot