काठमाडौं, २६ वैशाख । बरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा. अनिल भट्टराईले नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चालेका कदमहरु सही रहेकोले यसको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा कोरोनाविरुद्धको लडाईमा पहिलो पँक्तिमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुको सम्मानमा गरिएको दिप प्रज्जवलन अत्यन्तै राम्रो र आफूहरुलाई हौसला प्रदान गरेको उनको भनाई छ । उनले कोरोनाको उपचारको लागि नेपालमा अहिले धेरै तयारी भैरहेको पनि सुनाए । उनले भने, अहिले यसको गाईडलाईन सबै अस्पतालमा बनिसकेको छ । ६० हजारभन्दा बढिको कोरोना परीक्षण भैसकेको छ । एक महिनाअघि कोरोनाको महामारी फैलिएको भए भयावह अवस्था हुन्थ्यो ।
उनले विकसित देशमाजस्तो महामारी फैलियो भने नेपाल र नेपालीलाई समस्या पर्ने बताए । उनले थपे,तर, अहिले लकडाउन अपनाएका छौं । हामी यसको संक्रमणबाट जोगिन्छौं भन्ने लागेको छ । अस्पताललाई पिपिई, मास्क लगायतका स्वास्थ्य सामग्री पनि उपलब्ध गराईएको छ । लकडाउन लगाईएको छ । यी सबै तयारी हुन् । राम्रोसँग पालना गर्यौं भने राम्रो हुन्छ । अहिलेसम्म एक जनाको पनि मृत्यु भएको छैन् । यो खुशीको कुरा हो ।” उनले संसारभरिको अवस्था चित्रण गदै कोरोनाले फोक्सो, मुटु र मिर्गौलामा पहिले आक्रमण गर्ने गरेको सनुाए । उनले भने-“मुटुरोगीलाई कोरोना लाग्दा अलिक बढि नै मृत्युदर देखिएको छ । प्रभाव बढि दखिएको छ ।”