Logo

प्रचण्डलाई छाडेर लेखराज भट्ट किन गए ओली क्याम्पमा



काठमाडौं, २६ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य समेत रहेका उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट अहिले चर्चामा छन् । नेकपाभित्र विवाद चुलिंदै जाँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बोलिरहेका छन् ।

भट्टले आफू कुनै क्याम्पमा नरहेको दाबी गरेपनि ओलीसँग नजिक भइसकेको सन्देश दिइरहेका छन् । सुदुरपश्चिमका हस्ती नेतामध्येका भट्ट ओलीसँग नजिक हुनुको कारण प्रचण्डले भीम रावललाई प्राथमिकता दिनु पनि हो । रावल पनि सुदुरपश्चिमका नेता हुन् । अहिले रावलसँग भट्टको क्षेत्रीय तहमा पनि प्रतिष्पर्धा चलेको छ ।

प्रचण्ड नेतृत्वको जनयुद्ध लडेका लेखराज भट्टले सुदुरपश्चिमको कमाण्ड सशक्त रुपमा सम्हालेका थिए । अग्लो कद र पृथक पहिचानको कपालका कारण उनी चासोमा पर्थे । भट्टको परिचय अहिले निडर र आफ्नो कुरा स्पष्ट राख्ने नेताको रुपमा पनि बनेको छ । ऋषि धमलासँगको अन्तवार्तामा उनलाई प्रचण्डले मन्त्री बनाउनुभयो, यत्रो गर्नुभयो अहिले किन प्रचण्डलाई छाड्नुहुँदैछ भनी सोध्दा आफूले पनि प्रचण्डलाई धेरै गरेको जवाफ दिएका थिए ।

पूर्व माओवादीबाट मन्त्री भएकामध्ये लेखराज भट्टमात्र खुलेरै ओलीको समर्थनमा देखिएका छन् । उनी ओलीविरोधी स्थायी कमिटि बैठकमा सहभागी पनि भएनन् । ओलीले राजीनामा दिन नहुने र पार्टीमा ओलीको पछिल्लो कदमको बचाउमा बोलिरहे ।

भट्टका पछिल्ला अभिव्यक्तिले पूर्व माओवादी चिढिएका छन् । तर, ओलीलगायत उनका पक्षधरहरुले संकटको बेलामा सहयोग गरेको भन्दै प्रशंशा गरिरहेका छन् । जोखिम मोल्न सक्ने भट्टले ओलीलाई खुलेर सहयोग गर्नुमा मन्त्री हुनुमात्र कारण होइन । मन्त्री त घनश्याम भुषाल र योगेश भट्टराईलगायत पनि छन् । तर, उनले ओलीको पक्षमा खुलेर बोल्दा नेकपाभित्रको राजनीतिलाई समेत तरंगित बनाएको छ ।

प्रचण्डसँग भट्टको दुरी बढ्दै जानुमा भीम रावल मात्र कारण नभएको बुझिएको छ । पछिल्लो समय प्रचण्डले उनलाई भन्दा पूर्व माओवादीका अन्य नेताहरुलाई बढी विश्वास गरेकोले पनि असन्तुष्ट भएको विश्वस्त स्रोतले बताएको छ । प्रचण्डले अहिलेपनि जर्नादन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेललाई बढी विश्वास गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot