वैशाख २६, काठमाण्डौ । नेपालमा कोरोनाका कारण अनेकौँ समस्या देखिइरहेका छन् । कोरोनाकै कारण भन्नुपर्छ, शुक्रबार सिंहदरबारको मुख्य गेटअगाडि अनौठो दृश्य देखियो । त्यहाँ देखिएको थियो घर फर्कन माग गर्दै धर्ना दिन पुगेका चिनियाँ नागरिक र प्रहरीबीचको झडप । झडपमा प्रहरी र धर्ना बस्न पुगेका चिनियाँ नागरिक घाइतेसमेत भए ।
शुक्रबार दिउँसो करिब ३ बजेतिर नेपालमा रहेका चिनियाँ नागरिक सिंहदरबारको मृख्य गेटमा पुगे । गेटमा पुग्ने चिनियाँको संख्या करिब २५ जना थियो । र उनीहरु त्यहाँ जानुको कारण थियो स्वदेश फर्किन पाउ भन्दै धर्ना दिनु । तर लकडाउनका बेला त्यतिको संख्यामा हिँड्नै पाइदैन, त्यसमा पनि नेपालकै मुख्य प्रशासनीक केन्द्र सिंहदरबारको गेटमा पुगेपछि सुरक्षा निकायले त्यसै छोड्ने कुरा पनि भएन ।
तर घर जान नपाएर आत्तिएका चिनिया नागरिकले प्रहरी प्रशासनको आग्रह मानेनन् । अन्ततः सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भयो । झडपमा डिएसपीसहित ६ जना घाइते भएका छन् ।
निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित पुगेपछि झडप भएको हो । प्रहरीको लाठीचार्जबाट दुई चिनियाँ घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरु अस्पताल जानसमेत मानेका थिएनन् । यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्नेतसहित ४ प्रहरी घाइते भए ।
चिनियाँ नागरिकहरु सिंहदरबार गढेटमा पुग्दा ’वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेका थिए । यसरी जबरजस्ती स्वदेश फर्किन माग गर्दै सिंहदरबारकै गेटमा पुग्नु चिनियाँ नागरिकको गल्ती त हो नै, तर उनीहरुको बाध्यता पनि हो कि ? समस्यामा परेका विदेशी नागरिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नेपाल सरकारले ध्यान दिनु जरुरी देखिन्छ । अन्यथा यस्ता घटना नदोहोरियला भन्न सकिदैन ।