Logo

संसदमा राजीनामा दिनुपर्ने कुरा उठेपछि बालुवाटारमा प्रधानमन्त्रीको छलफल



काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गरेका छन् । आजबाट सुरु भएको वजेट अधिवेशनमा आफ्नो राजीनामाको कुरा उठेपछि उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल लगायतका नेताहरुसँग छलफल गरेका थिए ।

आजको संसद बैठकमा नेकपाको तर्फबाट उपनेता नेम्वाङले सम्म्बोधन गरेका थिए । सम्बोधनको क्रममा नेम्वाङले ‘सांसद अपहरण’को यथार्थ छिट्टै आउने धारणा राखेका थिए । उनले आफ्नो दल कुनै पनि आपराधिक क्रियाकलापको पक्षमा नहुने बताउँदै भनेका थिए,‘यसमा भएको के हो ? संसदको यही अधिवेशनमा यथार्थ आउँछ ।’

स्रोतकाअनुसार नेताहरुले प्रधानमन्त्री ओलीलाई सांसद अपहरण काण्ड संसदमा कडाईका साथ उठ्ने र भोलिको दिनमा संसद चल्न समेत नदिने अवस्था आउनेबारे ब्रिफिङ गरेका थिए । स्रोतकाअनुसार सरकारलाई कोरोनाविरुद्धको लडाईमा सबै दलको साथ र सहयोग रहेको कुरा संसद बैठकमा नेताहरुबाट प्रतिबद्धता आएकोबारे उपनेता नेम्वाङले ब्रिफ गरेका थिए । उनले सरकारको काम प्रभावकारी बनाउन सुझाव दिएका थिए । त्यस्तै, प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयमा रहेका सदस्यहरुसँगपनि छलफल गरेको बुझिएको छ ।

बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा, युवालाई देशको नेतृत्वमा ल्याउनुपर्ने सुझाव

विपक्षी दल समाजवादी पार्टीका सांसद तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए । त्यतिमात्रै नभएर, आफ्ना पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणको विषय पनि उनले उठाएका थिए । यो प्रकरणमा प्रधानमन्त्री ओलीको पनि संलग्नता भएको उनको आशंका थियो । भट्टराईले वर्तमान सरकारले लोकतन्त्रको छवि बिगार्ने काम गरेको गम्भिर आरोप लगाएका थिए । उनले सरकारले कोरोना संकटको बेला केन्द्रीकृत भएर काम गर्नु पर्नेमा पार्टी विभाजन र सांसद अपहरणजस्ता कार्यमा संलग्न भएको बाउँदै यसले सरकारकै छवि बग्रिएको टिप्पणी गरेका थिए । उनले सम्बोधनको क्रममा भनेका थिए-“अनावश्यक गतिविधिमा संलग्न हुँदा तपाईं आफैंमाथि अन्याय भएको छ। तपाईं रोगले जीर्ण भएको व्यक्तिलाई आराम दिनुपर्छ, त्यसैले आफ्नै छविलाई पनि बचाएर अघि बढ्न तपाईंले राजीनामा दिनु नै उपयुक्त हुन्छ।”

सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमायो : सभापति देउवा (भिडियोसहित)

अधिवेशन सुरु हुनेबित्तिकै सुरुमा बोलेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले त वर्तमान सरकारलाई सरकार चलाउने नैतिक र राजनीतिक दुवै आधार नभएको कडा टिप्पणी गरेका थिए । देउवाले सरकारले महामारीसँग लड्ने कुनै योजना र रणनीति नबनाएको बरू भष्टाचार र सांसद अपरहणजस्ता कुरामा संलग्न रहेकाले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको कुरा आफ्नो पार्टीले ठहर गरेको सुनाएका थिए । उनले पनि सांसद अपहरणमा संलग्न सबैलाई कडा कारबाही गर्न माग गरेका थिए ।

आजको दुई तिहाईको सरकार दुई कौडीको छैन् : राजेन्द्र महतो (भिडियोसहित)

राजपा नेपालका सांसद तथा पूर्वमन्त्री राजेन्द्र महतोले पनि सांसद अपहरण काण्ड संसदमा उठाएका थिए । महतोले त वर्तमान सरकारलाई दुई कौडीको सज्ञा दिएका थिए । उनले सरकार कोरोनाको विषयमा ध्यान नदिएर पार्टी फूटाउने धन्दामा लागेको गम्भिर आरोप लगाएका थिए । सम्बोधनको क्रममा सांसद महतोले भनेका थिए-“जनता महामारीबाट मरिरहेको छ। पीडित छ। खान पाएको छैन। उपचार पाएको छैन। स्वास्थ्य सामाग्री पाएको छैन। यहाँ त अर्कै धन्दा भैराखेको छ। सरकार अर्को धन्दामा पो लागेको रहेछ। पार्टी फोड्ने ? सांसद जोड्ने धन्दामा जनताको पीडा कम हुन्छ ? अपहरण गर्ने ? सांसद अपहरण गर्ने ? के हो यो?” उनले सरकारले अपहरणकारीलाई कारवाही गर्न निवेदन दिदाँ नलिएर हुकुमी शासन लागू गरेको बताउँदै भनेका थिए,”यहि धन्दा गर्ने हो? कुर्सी जोगाउने, कुर्सी पाउने यहि धन्दामा लाग्यो। जनतासँग सरोकार नराख्ने। जनताको जीवनसँग सरोकार नराख्ने।” फाईल तस्विर/प्रधानमन्त्री ओलीको सचिवालय



प्रतिक्रिया दिनुहोस्