बिराटनगर, बैशाख २७ । कोशी अस्पताल उपचार केन्द्र विराटनगरमा सङ्क्रमित बिरामीको उपचारमा खटिएका २५ स्वास्थ्यकर्मीको टोली घर फर्केका छन् ।
सामाजिक विकासमन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्रालगायतले इष्टर्न स्टार होटलको क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई शुक्रबार बिदाइ गरे ।
केन्द्रमा पहिलो चरणमा डा डेनप्रसाद आचार्यको नेतृत्वमा २५ स्वास्थ्यकर्मीको टिम रहेको थियो । केन्द्रमा सात दिन बसेको टिम १४ दिन क्वारेन्टाइनमा बसेर आज डिस्चार्ज भएको हो । सामाजिक विकासमन्त्री घिमिरेले चिकित्सकको साहसका कारण कोरोनालाई परास्त गर्न सफल भएको बताउँदै प्रदेश सरकारले यसको उपचारका लागि गरेको कामको सङघीय सरकार र अन्य प्रदेश सरकारहरुले चासोका साथ लिएको धारणा राखे।
उनले अवश्यकता परेको खण्डमा पुनः सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरे । डिस्चार्ज हुनुअघि सबै स्वास्थ्यर्मीको गरिएको थ्रोट स्वाब (पिसीआर) परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।रासस