Logo

भारत र चीन मिलेर नेपाली भुमी कालापानी लिपुलेक हुँदै मानसरोवर जाने सडक खोल्दा सरकार किन मौन ?



काठमाडौं, २७ वैशाख । विश्व नै कोरोना भाइरसको महामारीसँग लडिरहँदा भारतले नेपाली भुमि कालापानी, लिपुलेक हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा अवस्थित मानसरोवर जाने सडकमार्ग खोलेको छ । नेपाललाई कुनै जानकारी नै नदिई शुक्रबार यो सडक खोलिएपनि सरकारको कुनै धारणा सार्वजनिक भएको छैन ।

त्रिदेशीय सीमामा पर्ने लिपुलेकको विवादमा २०७२ सालमा नेपाललाई बेवास्ता गरेर भारत र चीनले सम्झौता गरेका थिए । त्यतिबेला नेपाल महाभूकम्पको मारमा परेको थियो । दुई देशले लिपुलेकको विषयमा सम्झौता गरेको पाँच वर्षपछि भारतले सडकमार्ग खोलेर रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार उदघाटन गरेका छन् । यस्तो संवेदनशील विषयमा सरकारले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

पूर्व परराष्ट्रमन्त्री डा. रामशरण महत सरकारले तत्काल धारणा सार्वजनिक गर्नुपर्ने बताउँछन् । उनले भने, ‘सरकारले आफ्नो पोजिशन स्पष्ट गर्नुपर्छ ।’ नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य पनि भारतले लिपुलेकबाट चीन जाने सडकमार्ग खोलेकोमा आपत्ती जनाउँदै सरकार बोल्नुपर्ने बताउँछिन् । उनले भनिन्, ‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले तत्काल कदम चाल्नुपर्छ । यो तरिका भएन ।’

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दुवै मौन छन् । भारतीय रक्षामन्त्री राजनाथ सिंहले कालापानी र लिपुलेक हुँदै मानसरोवर जाने सडक खोल्नु रणनीतिक दृष्टिकोणले अर्थपूर्ण छ । भारतले यसलाई सुरक्षाको दृष्टिले पनि हेरेको देखिन्छ ।

यसअघि भारतले नयाँ सीमा नक्शा सार्वजनिक गर्दा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो सीमामा उल्लेख गरेपछि नेपाली पक्षबाट विरोध भएको थियो । यसपटक मार्ग नै खोल्दा भने सरकारले मुख नखोल्नुलाई भारत र चीन रिझाउन खोजेको रुपमा पनि लिन थालिएको छ । राष्ट्रिय समाजवादी पार्टीका नेता महेन्द्र राय यादव विगतमा कालापानीको विषयमा सबै एकजुट भएको स्मरण गराए । सीमाको विषय संवेदनशील भएको भन्दै सरकारले तत्काल बोल्नुपर्ने बताए । उनले सरकारको कार्यशैलीप्रति शंका व्यक्त गर्दै भने, ‘विगतमा सरकारले किन आवश्यक कदम चालेन ?’

प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट गहिरिंदा बाह्य सहयोग लिन खोजेको सन्देश प्रवाह भइसकेको छ । चिनियाँ राजदुत होउ यान्छीको सक्रियता बाहिर नै प्रकट भयो । उनले आफ्नो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि सुमधुर सम्बन्ध रहेको हालै नेकपा सांसदसँगको छलफलमा बोलिसकेका छन् । यसलाई उनको कतै ‘सत्ताको सौदावाजी’ त होइन ? प्रश्न उठेको छ ।

धार्चुलाबाट लिपुलेक हुँदै मानसरोवार जाने ८० किलोमिटर सडकमार्ग उदघाटन गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंह

पूर्व परराष्ट्रमन्त्री डा. रामशरण महत विगतमा आफूले भारतसँग कालापानीको विषय उठान गरेको बताए । सुशील कोइराला प्रधानमन्त्री हुँदा आफू भारत भ्रमणमा गएको र तत्कालिन विदेश सचिव एस जयशंकरसँग प्रश्न उठाएको बताए । उनले भने, ‘जयशंकरजी भेट्न आउनुहुँदा भारत र चीनबीच लिपुलेकको विषयमा सम्झौता भएकोमा आपत्ती जनाउँदै सच्याउन भनेको थिएँ ।’ सरकारले आवश्यक कुटनीतिक पहल नगर्दा यो अवस्थामा पुगेको उनको भनाई छ । रासपा नेता महेन्द्र रायले सरकारले खोक्रो राष्ट्रवाद मात्र देखाएको आरोप लगाए । उनले भने, ‘चाहिएको बेलामा नबोल्ने र कदम नचाल्ने अनि खोक्रो राष्ट्रवाद देखाउने ?’

धार्चुलाबाट लिपुलेक हुँदै मानसरोवार जाने ८० किलोमिटर सडकमार्ग उदघाटन गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंह

पाँच वर्ष अघि नै भएको सम्झौतामा त्यसयताका सरकारहरुले लिपुलेकको विषयमा गम्भीरताका साथ कुटनीतिक पहल नगर्दा अहिले सडक मार्ग खोल्ने सम्मको अवस्था पुगेको हो । देशभित्र चर्का कुरा गर्ने तर कुटनीतिक दबाब सृजना गर्न नसक्ने सरकारहरु बन्दा देशको भुमी गुम्ने खतरा बढेको विश्लेषणहरु हुन थालेको छ ।-Photo Source: Agency and Twitter Account of Rajnath Singh



प्रतिक्रिया दिनुहोस्

Screenshot