Logo

हिमालय एयरलाइन्सले चीनबाट स्वास्थ्य सामग्री ल्यायो



काठमाडौँ, २७ वैशाख । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ ।

छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री बोकेर आएको हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त कार्गो जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको एयरलाइन्सले जनाएको छ । यी स्वास्थ्य सामग्री चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको हो । उक्त जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ ।

कार्गो उडानका चालकदलले सरकारी मापदण्डअनुरुप आवश्यक सम्पूर्ण स्वास्थ्य सुरक्षा उपायहरु अवलम्बन गरेको पनि कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्सको कार्गो जहाज आज बिहान काठमाडौँ अवतरण गरेको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिएका छन् । उनका अनुसार आजै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजले ग्वान्जाओमा चार्टर्ड उडान गर्दैछ । ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्स त्यसतर्फ जान लागेको हो । सो जहाज नेपाली सेनाले चार्टर्ड गरेको बताइएको छ । त्यसैगरी हिमालय एयरलाइन्सको न्यारोबडी जहाज पनि आजै छोङछिङ उड्नेछ । यी दुवै जहाज कार्गो चार्टर्ड उडान हुन् । (रासस)



प्रतिक्रिया दिनुहोस्