Logo

तीन चरणको योजनाका साथ् अष्ट्रलिया पुनः संचालन हुँदै



२७ वैशाख : कोरोना भाइरसको महामारी रोक्न अष्ट्रलिया सरकारले लागु गरेको लकडाउन हटाएको छ। अष्ट्रलियाका प्रधानमन्त्री स्कट मोरिसनले देश पुन: खोल्नका लागि तीन चरणको योजना घोषणा गरेका छन्। मोरिसनले राष्ट्रलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्।

जुलाईसम्ममा तीन चरणको योजनामा सफलता मिल्ने आशा गरेतापनि हरेक राज्यको भूमिकामा यो निर्भर हुने प्रधानमन्त्रीले बताएका छन्। तर, न्यु साउथ वेल्स (सिड्नी) र भिक्टोरिया (मेलबर्न लगायत) मा भने यस साताको अन्त्यसम्ममा लकडाउन खोलिने छैन। यी दुई अत्याधिक जनसंख्या भएका शहरहरुमा प्रत्येक दिन नयाँ कोरोना भाइरस संक्रमित फेला पारिएकाले तत्काल लकडाउन नखोलिने भएको हो। त्यस्तै, दक्षिण अष्ट्रलिया आउँदो सोमबार खोलिनेछ भने क्वीन्सल्याण्ड मे १५ मा र तास्मानिया मे १८ मा लकडाउन खोलिनेछ। अन्य केहि राज्यहरुले भने लकडाउन खुला गर्ने मिति तोकेका छैनन्।

लकडाउन निष्काशनको पहिलो चरणमा मुख्यत परिवार र साथीभाइलाई घरमा भेट गर्न अनुमति दिइनेछ। पहिलो चरण अनुसार रेस्टुरेन्ट र सार्वजनिक स्थल पुन संचालनमा ल्याइनेछ तर १० जनाभन्दा बढि व्यक्ति जमघट हुन पाउने छैनन्। त्यस्तै, घरमा केबल पाँच जना पाहुना ल्याउन पाइनेछ। विवाह समारोहका लागि १० पाहुना, मलामीका लागि २० देखि ३० जना तथा धार्मिक जमघटका लागि १० जना सम्मिलित हुन पाउनेछन्। व्यापार, शैक्षिक संस्था तथा खेल सम्बन्धि सेवालाई पुन: संचालन गर्न दिइने भएको छ।
त्यस्तै, कर्मचारीहरुले घरबाट नै काम गनुपर्नेछ र कार्यालयले कोभिड सुरक्षा योजना लागु गर्नुपर्नेछ। खुद्रा पसल, लिलामी तथा रेष्टुराँहरु एकपटकमा १० जना मात्र सहभागी हुने सर्तमा खोल्न पाउनेछन् तर चार स्क्वायर मिटरको दुरी अनिवार्य रुपमा हुनुपर्नेछ। सलुन तथा हेयर ड्रेसर व्यवसाय संचालन गर्न दिइनेछ तर ग्राहकको कन्ट्याक्ट ट्रेसिंग अनिवार्य रुपमा गर्नुपर्नेछ।

फुड कोर्ट, जिम, सिनेमा हल, स्टेडियम, संग्रहालय, चिडियाखाना, क्लब, वेश्यालय, सौन्दर्य तथा मसाज केन्द्र लगायत भने बन्द रहनेछन्। यस चरणमा विद्यार्थीहरुलाई कक्षा र खेल मैदानमा देख्न सकिनेछ। प्राविधिक क्याम्पसहरुले पनि अध्यापन सु्रुवात गर्न सक्नेछन्। इन्डोर जिम केबल १० व्यक्तिका लागि खोलिनेछ।

पर्यटकका लागि सीमाहरु बन्द रहनेछन् तर केहि होटल र होस्टलहरु आवासका लागि खोल्ने अनुमति दिइएको छ। तर, केहि राज्यमा क्याम्पिंग मैदानहरु पर्यटकका लागि बन्द रहनेछन्।

दोश्रो चरणमा भेटघाट र जमघटलाई पहिलो चरणभन्दा दोब्बर बढाइने छ। जस्तै २० जनालाई घर, रेष्टुराँमा जम्मा हुने अनुमति दिइनेछ भने ५० जना सम्मलाई अन्त्येष्टिमा सहभागी बन्न दिइनेछ। ब्युटिपार्लर लगायतका सौन्दर्य सम्बन्धि व्यापारलाई केबल २० जना ग्राहक सहित संचालन गर्न दिइनेछ। त्यस्तै पुल, सिनेमा हल, ग्यालरी, स्टेडियम र चिडियाखानाहरु केहि प्रतिबन्धका साथ मात्र खोल्न दिइनेछ।

अन्तत: तेश्रो चरणमा सामान्य जीवनतर्फ मोडिन सक्ने प्रधानमन्त्री मोरिसनले बताएका छन्। सो अवस्थामा एक सय जना वा सोभन्दा बढीको जमघटलाई अनुमति दिइनेछ। रेष्टुराँ, क्याफे, फुडकोर्ट, लिलामी, सिनेमा हल, वैवाहिक समारोह, अन्त्येष्टि समारोह तथा अन्य मनोरन्जनका स्थलहरुमा एक सय जना सम्मिलित हुन पाउनेछन्। यद्यपी, ४ स्क्वायर मिटर दुरीको नियम अवलम्बन गर्नुपर्नेछ। पब, क्लब लगायतका खेल खेलिने स्थानहरु बन्द रहनेछन्। मोरिसनले उक्त समयम्म सबै कर्मचारीहरु आफ्नो कार्यस्थलमा फर्कन सक्ने आशा पनि गरेका छन्।

यात्राका हकमा भने सिमित सर्तमा मात्र नियम परिवर्तन हुनेछ। मोरिसनले केहि राज्य र क्षेत्रभित्र मात्र यात्रा गर्न सकिनेमा जोड दिएका छन्। अष्ट्रलियन सरकारले क्रस तस्मान, प्रशान्त टापु तथा अन्तराष्ट्रिय विद्यार्थीको हकमा यात्राका बारेमा विचार गर्ने बताएको छ।मेरोलागानी Photo Source : Daily Mail



प्रतिक्रिया दिनुहोस्