Logo

उत्तर कोरियामा कोरोना महामारी फैलिएको आशंका



एजेन्सी, २७ वैशाख । उत्तर कोरियामा अझैसम्म कुनै कोरोना भाइरसका संक्रमित नभेटिएको तथ्यांक छ । उसले यस्तो दाबी गरिरहँदा विश्वले पत्याइरहेको छैन । उत्तर कोरियासँग सीमा जोडिएको चीनमा पहिलोपटक कोरोना संक्रमण भेटिएको थियो । अर्को सीमा जोडिएको दक्षिण कोरियामा पनि संक्रमण फैलियो ।

उत्तर कोरियामा अझै पनि एउटा पनि कोभिड-१९ का विरामी पत्ता नलागेको दाबी दोहोराइएको छ । तर, पछिल्लो पटक चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियामा कोरोना भाइरसको खतराबारे चासो व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनको सन्देशको जवाफ दिदै उत्तर कोरियाली जनताको स्वास्थ्य र महामारीको अवस्थाबारे व्यक्तिगत चासो देखाएको चिनियाँ राष्ट्रिय मिडियाले जनाएको छ ।

राष्ट्रपति सीले कोरोना महामारी रोकथामका लागि आवश्यक कदम चाल्न सहयोगको प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले उत्तर कोरियाली नेता उनको कोरोना भाइरसको महामारीसँगको लडाईंमा चीनले प्राप्त गरेको सफलताका लागि धन्यवाद व्यक्त गर्दै पठाएको सन्देशको जवाफमा यस्तो उत्तर दिएको चिनियाँ समाचार संस्थाले जनाएका छन् ।

चीनबाट आएको यस्तो जवाफलाई अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले त्यहाँ कोरोना भाइरसको महामारी रहेको आशंका गर्दै विश्लेषण गरेका छन् । दुनियाँका लागि रहस्यमय बनेको देशमा कोरोनाको संक्रमण लुकाइएको हुनसक्ने अनुमान गरिदैछ ।



प्रतिक्रिया दिनुहोस्