Logo

पार्टी बलियो होस् : गौतम



काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले पार्टी बलियो बनाउनेमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।

शनिबार सङ्क्षिप्त कुरा गदै नेता गौतमले भने, “पार्टी बलियो भयो भने सरकार बलियो हुन्छ, सरकार बलियो भए देश र जनताको पक्षमा काम गर्न सक्षम हुनेछ । ” कोरोना महामारीले देशको सङ्कटपूर्ण यो अवस्थामा पार्टी र सरकार दुवै बलियो बनाउनेमा सबैको ध्यान जानुपर्ने भन्दै आफूलाई जोडेर मिडियामा विभिन्न थरीका समाचार आएकोमा आफूलाई दुःख लागेको उनको भनाइ छ । यही वैशाख १७ गतेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राख्नुभएपछि मिडियाले आफूखुसी समाचार बनाएको प्रस्ट पादै नेता गौतमले ‘प्रधानमन्त्री बन्नुपर्छ’ भन्ने प्रस्ताव आफूले बैठकमा नगरेको प्रस्ट पारेका छन् ।

यस्तै वैशाख २० गते बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको सदस्य बनाउने निर्णय गरेको थियो । सो निर्णयपछि नेता गौतमलाई प्रधानमन्त्री बनाउने तयारी पार्टीले गरेको अनुमानसहितका समाचार मिडियाले सम्प्रेषण गरेका थिए । तर सो बैठकमा पनि आफूले प्रधानमन्त्री हुनुपर्ने माग नगरेको उनले प्रस्ट पारेका छन् । “पार्टीले आवश्यक ठानेर निर्णय गर्छ भने त्यसलाई अस्वीकार गर्ने कुरा रहँदैन तर मैले प्रधानमन्त्री हुनुपर्छ भनेको छैन”, नेता गौतमले स्पष्ट पार्दै थपे, “पार्टीको जिम्मेवार नेता तथा कार्यकर्ताको हिसाबले पार्टीले गर्ने निर्णयविरुद्ध त म जान सक्दिनँ । ”

केही दिनयता आफूविरुद्धको तथ्यहीन समाचार शृङ्खलाबद्ध रूपमा प्रकाशित हुँदा आफूलाई आश्चर्य लागेको बताउनुहुँदै नेता गौतमले भने, “नबोलेको कुरा पनि बिनास्रोत समाचार आउँछ । भ्रममा पार्ने काम भइरहेको छ । ” जनताले बहुमत दिएर पठाएको वर्तमान सरकार ढलेमा मुलुक पुनः अस्थिरतामा जाने भन्नुहुँदै नेता गौतमले नेकपाका अध्यक्ष ओली नेतृत्वको सरकारले मुलुकको समृद्धि कायम गरेर मात्रै विश्राम लिनुपर्ने बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्