Logo

नेपालको नक्शा सार्वजनिक गर्छौं-मन्त्री ज्ञवाली



काठमाडौं, २८ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नक्शा छिट्टै सार्वजनिक हुने बताएका छन् । नक्शाको प्राविधिक कामहरु केही बाँकी रहेको भन्दै पूरा भएपछि सार्वजनिक हुने बताएका हुन् । नक्शा कस्तो हुन्छ भन्ने स्पष्ट नपारेपनि कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्पूर्ण भूभाग समेटिएको हुने संकेत गरे ।

‘हामी नक्शा सार्वजनिक गर्नेछौं,’ मन्त्री ज्ञवालीले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय महत्वको विषयमा बोल्दै भने, ‘एक इन्च भु-भाग यताउता नपर्ने गरी नक्शा सार्वजनिक हुन्छ ।’ भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभागलाई आफ्नो नक्शामा समेटेर सार्वजनिक गरेको र शुक्रबार लिपुलेक समेटेर चीनसँग जोड्ने व्यापार मार्ग उदघाटन गरेपछि संसदलाई सरकारको धारणा र कदमबारे जानकारी दिने क्रममा ज्ञवालीले हालको नेपालको नक्शा २०३२ सालको भएको खुलाए ।

२०३२ सालको नक्शामा कालापानी, लिपुलेक र लिम्पियाधुराको पूर्वतर्फको भूभाग समेटिएको र पश्चिमतर्फको नभएको समेत बताए । अबको नक्शा सबै भूभाग समेटेर सार्वजनिक हुने संकेत समेत गरे ।

नेपालको हालको सीमा सन् १८१६ मार्च महिनामा भएको सुगौली सन्धीबाट निर्दिष्ट भएको स्पष्ट पारे । त्यसयता तीनवटा पूरक सन्धी भएको समेत बताए । त्यसपछि दुवै देशबीच सीमा सम्बन्धी कुनै सन्धी नभएको बताए ।

२ नोभेम्बर २०१९ मा भारतले राजनीतिक नक्शा सार्वजनिक गरेपछि सरकारले त्यसप्रति ध्यानाकर्षण जनाएको समेत बताए । तर, त्यसको कुनै आधिकारिक जवाफ नआएको उनको भनाई थियो । मन्त्री ज्ञवालीले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको क्षेत्र नेपालको हो । निरन्तर कुटनीतिक पहल । औपचारिक जवाफ समेत नदिइकन बाटोको उदघाटन गरिएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot