Logo

भारतसँग वार्ताबाट निष्कर्ष निस्किएन भने आफ्नो भूमि फिर्ता गर्न अन्तर्राष्ट्रिय मुद्दा बन्छ- पद्मा अर्याल, मन्त्री 



काठमाडौं, २८ वैशाख । भुमी व्यवस्था तथा सहकारीमन्त्री पदमा अर्यालमाथि चुनौती बढेको छ । भारतले नेपाली भुमी लिपुलेक हुँदनै चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि सर्वत्र चासो बढेको छ । यसपछि भुमी व्यवस्था मन्त्रालयमा चासो र जिम्मेवारी बढेको छ । यसै सेरोफेरोमा मन्त्री अर्यालसँग ऋषि धमलाले गरेको कुराकानीः
लिपुलेकलाई नेपालको भनियो नक्सामा किन राख्न सकिएन ?
नेपालको नक्सामा कालापानी र लिपुलेक छ ।
लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा छैन भन्ने कुरा आएको छ नि ?
लिम्पियाधुरा चाहीं इतिहासदेखि नै छैन । लिपुलेक र कालापानी समेटिएको चाहिं अहिले हामीले प्रचलनमा ल्याएको नक्सा हो । गत कात्तिकमा यी नेपाली भूभाग समेटेर भारतले नक्सा प्रकाशित गरेको छ । त्यसमा हाम्रो आपत्ति हो । यो सन्दर्भमा उच्चस्तरीय वार्ता गर्ने भन्दाभन्दै कोरोनाको महामारीले पछाडि धकेलियो । जतिबेला भारत र चाइनाबीच सडक सञ्जाल जोड्ने भनेर सम्झौता भयो । त्यतिबेलादेखि नै हामी त्यसको विपक्षमा छौं ।
लिपुलेकमा सडक बन्न थालेको १२ वर्ष भइसक्यो, त्यसमा तपाईंहरुले थाहा नपाएको जस्तो गर्नुभयो नि ?
हिजो के भयो फरक कुरा हो । आजको कुरा यीलगायत जतिपनि विवादित भूमिहरु छन् । त्यसलाई कुटनीतिक वार्ताबाट टुंग्याउने भनेर त्यसको लागि नोट पठाउनेदेखि टेलिफोन वार्ता समेत भएको छ । जुन बेलामा भारत र चीनबीच सम्झौता भयो त्यतिबेला नै ‘यो हाम्रो भूभाग हो, तपाईंहरुले मात्रै सम्झौता गरेर हुँदैन, नेपालको पनि सहमति हुनुपर्छ, हाम्राबीचमा सहमति हुनै बाँकी तपाईहरुले मात्रै गरेर मान्य हुँदैन’ भनेका छौं । यसरी असहमति हुँदाहुँदै आज फेरि बलमिच्याईं गरेर सडक उद्घाटन भएको छ । त्यसमा आपत्ति प्रकट भइसकेको छ ।
असहमति प्रकट गर्नुभयो तर भारतले त मानेको छैन नि ?
त्यसको लागि भारतीय पक्षबाट संक्रमणपछि बसेर छलफल गरौं भनेर केही संकेत पनि आइसकेको छ । यसमा हामीसँग एउटा कुरा गर्ने अर्कोतिरबाट उल्लंघन हुने हो भने सशक्त प्रतिरोध हुन्छ ।
लिम्पियाधुरा नेपालको हो भनेर नक्सा जारी गर्न सक्नुहुन्छ ?
त्यो ठाउँलाई हामीले त हाम्रो भूमि हो भनेर दावी गरिराखेका छौं ।
नेपालको नक्सामा समेट्न सक्नुहुन्छ ?
नक्सामा समेट्ने कुरा सरकारमा छलफल भइराखेको छ । यसलाई वार्ताबाटै टुंग्याउँ भनेर सार्वजनिक गर्न ढिलाई भएको हो । आफ्नो भूभागलाई हिजो किन राखेनन् ? हामीले त नराख्ने भएकै छैन । राख्नको लागि लगभग हाम्रो प्राविधिक टिमले काम सकेको छ । वार्ताबाटै यसलाई टुंग्याउने भनेर पो थाति रहेको हो ।
नेपालको नक्सा सार्वजनिक गर्न किन डारउँछ यो सरकार ?
सरकारले वार्तामा बसौं भनिरहेको बेलामा वार्तामा कुरा नमिले हाम्रो पोजिसन के भन्ने कुरा छँदैछ । उताबाट पनि वार्तामा बस्ने संकेतहरु आइरहेकाले त्यसोभए ठीक छ वार्तामै बसौं भनेर ढिला भएको हो ।
पहिलो प्राथमिकता त वार्ता हो ?
यस्ता कुटनीतिक विषय त वार्ता, संवादबाटै टुंग्याउने हो । त्यसबाट टुंगिएन भने के गर्ने भन्ने दोस्रो कुरा हो ।
यसलाई अन्तर्राष्ट्रियकरण गर्न मिल्दैन ?
यो मुद्दालाई वार्तामै नबसी अन्तर्राष्ट्रिय गर्ने कि नगर्ने भन्ने हो ? यदि वार्ताबाट समाधान निस्किएन भने अन्तर्राष्ट्रियकरण पनि गर्नुपर्ने हुन्छ । तपाईंले गरेको प्रश्न अन्तिम कुरा हो । हामी त्यो ठाउँमै पुग्न चाहँदैनौं । यदि वार्ताको निष्कर्ष निस्किएन भने आफ्नो भूमि फिर्ता गर्न अन्तर्राष्ट्रिय मुद्दा बन्छ नि ।
त्यहाँ बाटो बनिरहेको सरकारलाई पहिलादेखि नै थाहा थियो रे त्यसमा प्रतिकार गर्न चाहेन रे हो ?
यो त नौलो कुरा होइन । सुगौली सन्धिदेखि नै त्यो भूभाग हाम्रो हो भन्ने प्रष्ट छ । दुई सय वर्षदेखि अहिलेसम्म किन टुंगिएन भन्ने प्रश्न उठ्न सक्छ । हामीले हाम्रो भनिरहेका छांै । भोगचलन भारतले गरिरहेको छ । त्यो त साँचो कुरा हो नि । त्यसैले यो विषय पुरानै हो । यो बेलामा टुंग्याउनुपर्छ भनेर लागेको अवस्था हो ।
लिपुलेकमा भारतले सडक बनाइरहेको छ भन्ने कुरा सरकारलाई पहिल्यै थाहा थियो ?
यो सरकारलाई मात्रै होइन । जमानामा जति सरकार भए ती सबैलाई थाहा छ ।
त्यसोभए किन रोक्नका लागि पहल गर्नुभएन ?
लडाईंँ गरेर रोक्ने भनेको होइन । हामीलाई किन यस्तो भयो ? वार्ता गरेर टुंग्याउँ भनेका छौं । हामी त लागेका लागेकै छौं नि । सहमति गर्न त दुवैपक्ष बस्नुप¥यो नि ।
डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरीबल राख्ने तयारी भएको हो त्यहाँ ?
त्यसको लागि त सरकार पुरै तयारीमा छ । अहिले लकडाउनको कारणले कार्यान्वयनमा जान अप्ठ्यारो भयो ।
कहिलेसम्म राख्नुहुन्छ ?
यो परिस्थिति सहज हुनेबित्तिकै राख्नुपर्छ ।
चीनले पनि नेपालको भूभाग भारतलाई जिम्मा लगायो नि ?
यसको बारेमा मैले अगाडि पनि व्यक्त गरिसकेँ । यो अत्यन्तै दुःखद् कुरा हो । तत्कालै यो विषयमा हामीलाई मान्य छैन भनेर विरोध जनाइसकेका छौं । त्यो चीन र भारत दुवैलाई थाहा छ ।
त्यसोभए चीनसँग पनि कुरा गर्नुहुन्छ लिपुलेकको बारेमा ?
गर्छौं । तर, पहिलो मुख्य मुद्दा भनेको भारतसँगै हो । भारतले नै चीनमा प्रस्ताव लगेको हो । भूमिको बारेमा भारतसँग मात्रै कुरा हुने हो । किन भने त्यहाँ चाइनासँग सीमा जोडिँदैन । व्यापारिक मार्ग मात्रै जोडिएको छ ।
व्यापारिक मार्गको कुरा गर्दा पनि चीनले भारतलाई साथ लियो नि ?
जमीनको मुद्दा टुंगियो भने बाटो त्यसै टुंगिइहाल्छ । जमीनको कुरा टुंगिएर बाटोको मात्रै मुद्दा रह्यो भने त्यहाँ चाइना जोडिन्छ । नेपाल र भारतको सीमाना त चाइना जोडिनुपरेन नि ।
तर, चाइनाले पनि नेपालको भूभागमाथि व्यापारिक दृष्टिकोण सम्झोता त ग¥यो नि ?
त मैले अगाडि नै भनिसकेको छु । भूभागको कुरा टुंगिँदा सकडको पनि टुंगिन्छ । जब भूभाग नेपालको हो भने नेपालतिरै आउँछ नि ।
अहिलेको कुरालाई लिँदा त भारतको जुन रणनीति छ, त्यसमा चीन पनि संलग्न देखियो नि ?
अहिले त्यो दुनियाँकै आकर्षणको क्षेत्र भयो । त्यसैले विषय उठान भएको छ । अब हामी वार्तामा बसेपछि यसलाई टुंग्याएरै सरकार अगाडि जान्छ ।
भारतसँग वार्ता कहिले हुन्छ ?
हिजो मात्रै यो महामारीको असर अलि कम भएपछि बसौ भन्ने संकेत आइरहेको छ । –File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot