काठमाडौं, २८ वैशाख । आज संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य डा. भीम रावल कडा रुपमा प्रस्तुत भए । उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसामु सरकारलाई गम्भीर आरोप लगाउँदै लिपुलेकमा सडक उदघाटन गर्दा समेत हस्ताक्षरसहित विज्ञप्ति ननिकालेकोमा प्रश्न उठाए ।
परराष्ट्र मन्त्रालयको प्रवक्ता समेतको हस्ताक्षर नहुनु र कसैले आधिकारिक रुपमा तत्काल नबोल्नुलाई उनले गम्भीरताका साथ लिए । रावल कडा रुपमा प्रस्तुत भएपछि प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका नेकपा स्थायी समिति सदस्य शंकर पोखरेलले मुख खोलेका छन् ।
रावल विगतमा गृह, रक्षा र पर्यटन मन्त्री समेत भएको उल्लेख गरे । त्यसका अलावा सुदुरपश्चिम प्रदेशका इन्चार्ज समेत भएको भन्दै कालापानीलगायत नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि सरकारलाई रचनात्मक सहयोग गर्न आग्रह गरे ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्ः
विगतमा गृह,रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदुरपश्चिम प्रदेसको इन्चार्ज समेत रहनु भएका कमरेड भिम रावलजीले कालापानी लगायत नेपाल भारत बीचको सिमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफुले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खवर सुन्न पाएको भए खुसीको अनुभूती हुने थियो । राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहलको खाँचो पर्दछ । संसदका समिति र संसद भित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ । आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्न पुग्छ । सिमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।