Logo

सुजाताको प्रस्तावः बङ्गलादेशसँग जोडिने भारतीय भुमीसँग लिपुलेक साटौं



काठमाडौं, २९ वैशाख । पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाल र भारतबीचको सीमा समस्या सदाका लागि समाधान गर्न भुमी साट्ने या लिजमा लिने प्रस्ताव गरेकी छिन् । उनले भारतसँग कुटनीतिक माध्यमले समस्या समाधान गर्नुको विकल्प नभएको भन्दै त्यसका लागि आफू जिम्मेवारी लिन तयार भएको बताइन् ।

‘सिमा विवादमा सधैं अल्झेर र विरोध गरेर मात्र बस्ने होइन, समाधान खोज्नुपर्छ,’ नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी कोइरालाले भनिन्, ‘विकल्पका रुपमा कालापानीलगायतका भुभाग भारतसँग साट्ने या लिजमा दिने र बङ्गलादेशसँग जोडिने भुमी लिजमा लिने या साट्ने गर्न सकिन्छ ।’ आफूले विकल्प दिएको र अरुलाई पनि विकल्प लिएर भारतसँगको सिमा विवाद सदाका लागि अन्त गर्ने प्रस्ताव लिएर आउन चुनौती दिइन् । आफूले भनेकै हुनुपर्छ भन्ने नभएको तर राष्ट्रलाई फाइदा हुने विषय बोलेको दाबी गरिन् ।

भारतले चीन जोड्ने लिंक रोड बनाएको क्षेत्रसँग बँगलादेशसँग जोडिने भारतीय भुभाग साट्ने या लिजमा लिने प्रस्ताव देशको हितमा भएको तर्क गरिन् । उनले भनिन्, ‘बँगलादेशसँग जोडिएमा हामीलाई छोटो बन्दरगाहसम्म सिधा पहुँच पुग्नेछ ।’ भारत र बङ्गलादेशबीच थाती रहेको सिमा विवाद यसरी नै जमिन साटासाट गरेर समाधान भएको स्मरण गराइन् । दुई देशले कुटनीतिक पहलबाट समस्या समाधान गरेकोले यसबाट सिक्नुपर्नेमा जोड दिइन् ।

यसअघि संसदको अन्तर्राष्ट्रिय समितिमा बोल्दै नेता सुजाता कोइरालाले विकल्पसहित अगाडि बढ्नुको विकल्प नभएको बताइन् । भारत र चीनबीच व्यापार मार्ग खोल्ने सम्झौता भएको छ महिनाभन्दा बढी समय केही नबोल्ने र अहिले एकैपटक राष्ट्रवादी बन्न विरोध गर्ने भनी प्रश्न गरेकी थिइन् ।

राष्ट्रवादी बन्ने हो भने विरोध मात्र गरेर नहुने राष्ट्र हितमा काम गर्नुपर्ने बताइन् । आफूले भारतसँग वार्ता गरी समस्या समाधान गर्न सक्ने दाबी गर्दै कोइरालाले राष्ट्रिय सहमतिका साथ एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘एउटै एजेन्डा बनाऔं र भारतसँग प्रस्ताव लिएर जाऔं, विरोध गरेर मात्र नबसौं ।’

आफूले सधै देशहितमा बोल्दा अनेकन चुनौतीहरु झेलेको बताइन् । उनले भनिन्, ‘देश र जनताको हितमा बोल्दा सुजाता कोइराला पेलाईमा परेको हो ।’ आफू जस्तोसुकै दबाब थेगेर भएपनि देश र जनताको हितमा बोल्न र काम गर्न पछि नपर्ने बताइन् ।

राष्ट्रवादी बन्दा विरोध मात्र गर्ने केही नगर्ने हुँदा देशले धेरै गुमाइरहेको उनको तर्क थियो । बोलेर नभई गरेर देखाउन चुनौती दिइन् । कोइरालाले सत्तारुढ नेकपा र नेपाली काँग्रेसका नेतृत्वकर्ता नेताहरुको समेत आलोचना गरिन् । भारतले सडक बनाउँदा सबै मुकदर्शक भएको र अहिले विरोध गर्न थालेको बताइन् । उनले भनिन्, ‘अब विरोध गरेर क्षणिक आनन्द र लोकप्रीयता लिने होइन काम गरेर देखाऔं सीमा समस्याको दीर्घकालिन समाधान निकालौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot