मोरङ, २९ वैशाख । ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको अभियोगमा ट्याक्टरका चालक बद्रीबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । कानेपोखरी गाउँपालिकाका आयुष गिरी मृत अवस्थामा फेला परेको घटनामा संलग्न रहेको अभियोगमा को.२ त १२२५ नम्बरको ट्याक्टरका चालक पथरीशनिश्चरे नगरपालिकाका बद्री बहादुर मगर पक्राउ परेका हुन् ।
बेलबारी नगरपालिका दौलतपुरस्थित सुनसरी सिंचाई आयोजनाको मुल नहरको सडक दक्षिण किनारमा बैशाख २५ गते बिहान आयुषको शव फेला परेपछि तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी अनुसन्धानमा खटिएको थियो ।
घटनाको अनुसन्धान गर्ने क्रममा बैशाख २४ गते राति गिरी र उनका ९ जना साथीहरु स्थानीय होटलमा मादक पदार्थ सेवन गरी आपसी विवाद हुँदा एक्लै घर जान्छु भनि नहरको बाटो पदैल हुँदै घरतर्फ जाँदै गरेको अवस्थामा निज बद्री बहादुर मगरले चलाएको को.२ त १२२५ नम्बरको ट्याक्टरले गिरीलाई ठक्कर दिँदा उनको मृत्यु भएको खुल्न आएको छ । मृतक गिरीसँग मादक पदार्थ सेवन गर्ने ९ जनालाई समेत प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।