Logo

लिपुलेक र सगरमाथाले ओलीलाई पिरल्यो, सत्तामा अर्को संकट



काठमाडौं, २९ वैशाख । लकडाउनमा अनेकन झमेलामा परेका प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सत्ता जेनतेन जोगाएका छन् । पार्टी हाइकमाण्डमा एकपछि अर्को राजनीतिक अस्त्र हानेर सत्ता जोगाउन सफल भएपनि प्रहार घटेको छैन । त्यसमाथि भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने लिंकरोड उद्घाटन गरिदिएर अप्ठ्यारोमा पारिदिएको छ ।

लिपुलेकको सवाल उठ्नु अगाडि नै चीनले सगरमाथामा स्वार्थ देखाउन थालिसकेको थियो । घटना बाहिर नआएपनि सगरमाथाको उचाई मापनमा चीनको स्वार्थ देखिएको छ । भुमि व्यवस्था मन्त्रालयमा चिनियाँहरु धाइनै रहेका छन् । उचाई नाप्दा संयुक्त रुपमा काम गर्ने दबाब छँदैथियो । विश्वभर सगरमाथाको चुचुरो नेपालको हो भनी जानिँदा चीनले आफ्नो दाबी गर्दै ट्वीटरमा चाइना ग्लोबल टेलिभिजन नेटवर्कमार्फत् प्रचार गर्यो । सर्वत्र आलोचना भएपछि सच्याए पनि उसले सगरमाथा चीन र नेपालको सीमामा पर्छ भनी प्रचार गर्न छाडेको छैन । यसलाई निकै गम्भीर रुपमा लिइएको छ ।

८० किलोमिटर दुरीको नेपाली हुँदै लिपुलेक हुँदै भारत र चीनबीचको व्यापार मार्ग आरम्भ

एकातर्फ लिपुलेक अर्कातर्फ सगरमाथामा दुई छिमेकीले दुःख दिने गतिविधि भएपछि ओली सरकार आलोचित भएको छ । संसदीय समिति र संसदको बैठकमा आफ्नै नेताहरुबाट सरकारमाथि तिव्र आक्रोश व्यक्त भएको छ । स्थायी समिति सदस्य भीम रावलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई आच्छु आच्छु पारे । भन्न केही बाँकी राखेनन् ।

चिनियाँ सरकारी टेलिभिजनले सगरमाथाको चुचुरा चीनमा पर्ने भनी गरेको प्रचार

प्रधानमन्त्री ओलीलाई अहिले बरु नेपाली काँग्रेसले साथ दिइरहेको छ । उनी नेकपाभित्रका नेताहरुबाट चर्को दबाबमा परेका छन् । भारतको कदम र चीनको भुमिकाले ओलीलाई अप्ठ्यारोमा पारेको छ । उनले भरोसा गरेको चीनले समेत भारतसँग गत वर्ष नै लिपुलेक हुँदै लिंकरोड बनाउने सम्झौता गरेको थियो । चीनको साथ नभई भारतले सीमा क्षेत्रमा सडक बनाउने कुरै आउँदैन । त्यसमाथि चीनले सगरमाथामा आफ्नो पनि दाबी देखाउन थालेको छ । कुनैपनि विदेशी राष्ट्र आफ्नै स्वार्थमा सघाउने र नसघाउने रणनीति बनाउन पुग्छ भन्ने यसले पुष्टि गरेको छ । चीनले नेकपा विवाद मिलाउने सम्मको भुमिका खेलेको सन्देश समेत दिइसकेको छ । तर, यसवापत उसले आफ्नो राष्ट्रिय स्वार्थमा नेपालको वर्तमान सरकारलाई चुप लगाइरहेको देखिदै गएको छ ।

अब नेकपाको आन्तरिक राजनीति अझ संकटमा पर्ने अवस्था देखिएको छ । २ जेठमा सरकारको नीति तथा कार्यक्रम पेश हुनेछ । भोलिपल्ट ३ जेठमा नेकपा एकीकरणको तीन वर्ष पुरा हुन्छ । यसबीच बस्ने भनिएको स्थायी कमिटि बैठक स्थगित गरिएको छ । अब नीति तथा कार्यक्रमले सरकारको भविष्य टुंगो लगाउने देखिदैछ । कार्यक्रम पारित नभए प्रधानमन्त्री केपी शर्मा ओली नैतिक संकटमा पर्न सक्छन् । त्यस्तो अवस्था आइनहाल्ला तर आउने भएमा ओलीसँग एउटा अस्त्र छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भनेर संकटकाल घोषणा गर्ने ।

संविधान अनुसार अहिले महामारीको अवस्था भएकाले संकटकाल घोषणा गर्न छेक्दैन । तर, यसले नेकपाभित्रको राजनीतिमा मात्र नभई देशको राजनीतिमा पनि उथलपुथल ल्याउन सक्छ । एकातर्फ अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकुल हुँदै जानु र नेकपाभित्र पनि अल्पमतमा पर्दै जानुले ओलीलाई अर्को संकट आएको छ । उनले पटक पटक सत्ताको सञ्जिवनी बुटी पाउँदै आएका छन् । तर, यसपटक खड्ग प्रसाद ओलीका सामु ठुलो राजनीतिक खड्गो आइलाग्ने देखिदैछ ।-File Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot