Logo

भारतमा लकडाउन खुकुलो हुँदा नेपालमा कोरोना संक्रमण फैलियो



काठमाडौं, ३० वैशाख । भारतमा लकडाउन खुकुलो पारिएको छ । मजदुरीका लागि एक राज्यबाट अर्को राज्यमा गएकाहरुलाई घर फर्कन दिन विशेष रेल र बस सञ्चालनमा ल्याइएको छ । जसका कारण कतिपय राज्यहरुमा कोरोना भाइरसको संक्रमित संख्या ह्वात्तै बढेको छ ।

भारतले कम संख्यामा भएपनि यात्रुवाहक रेल र बस चलाउँदाको असर नेपाललाई पनि परेको छ । नेपाल भारत सीमामा हजारौं नेपाली नागरिक आइपुगेका छन् । उनीहरु भारतको मुम्बई, दिल्ली, भोपाल, अहमदाबादलगायत ठुला शहरबाट आइपुगेका हुन् । रेल र बस चलेपछि सीमासम्म आइपुगेकाहरु लुकिछिछिपी नेपाल पसेको तथ्य पत्ता लागेको छ ।

यसै हप्ता कपिलवस्तुमा कोरोना भाइरसका संक्रमित १० जनाभन्दा बढी युवाहरु भारतबाट लुकिछिपी पसेको खुलेको छ । उनीहरुलाई स्थानीय जनप्रतिनिधिको सहयोगमा पत्ता लगाई चेकजाँच गरिएको थियो ।

नेपाल भारत सीमा जोडिएका जिल्लाहरुमा धमाधम कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । हिजो एकै दिन २४ जना संक्रमित पत्ता लागेका छन् । उनीहरुमध्ये कपिलवस्तु, रुपन्देही र सप्तरी जिल्लाका २३ जना भारतबाट लुकिछिपी नेपाल छिरेको खुलेको छ ।

पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरु सीमाबाट लुकिछिपी छिरेकाहरु देखिनु गम्भीर विषय हो । देशभित्र लकडाउन खुकुलो पारिदै लैजाँदा भारतबाट लुकिछिपी प्रवेश गर्नेहरुबाट संक्रमण देखिनुले त्रास बढाएको छ ।

भारतमा ७० हजार मानिसहरु कोरोना भाइरसका संक्रमित भएका छन् । त्यहाँ २२ सय मानिसको संक्रमणबाट मृत्यु भइसकेको छ । भारतमा कोरोना कहर बढ्दै जानु र त्यहाँबाट नेपाली नागरिक फर्केर लुकिछिपी गाउँवस्तीसम्म पुग्नुले संक्रमण फैलने खतरा बढाएको छ । –Photo Credit: Indian Railway Twitter



प्रतिक्रिया दिनुहोस्