Logo

कालापानीमा सीमा सुरक्षा पोस्ट स्थापना गरिँदै



काठमाडौँ, ३० वैशाख । नेपाल सरकारले कालापानीमा सशस्त्र प्रहरीको नेतृत्वमा सीमा सुरक्षा पोस्ट (बीओपी) स्थापना गर्ने भएको छ । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनसँग सिमाना जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले तत्काल व्यास गाउँपालिका–१, छाङ्रुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बीओपी स्थापना गर्न लागेको हो ।

बुधबारसम्म कालापानी क्षेत्र छाङ्रुमा सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने गरी तयारी भएको सशस्त्र प्रहरी बल ५० नम्बर दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी दिएका छन् । सीमा सुरक्षा पोस्ट स्थापना गर्न स्थलगत निरीक्षणसमेत भइरहेको उनले बताएका छन् । भारतले सन् १९९९ देखि चीन सीमा जोड्ने उद्देश्यले तावाघाटदेखि सडक निर्माण थालेको थियो । सन् २०१५ मा भारत र चीनबीच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति भएपछि यो सडकलाई भारतले प्राथमिकताका साथ निर्माण गरेको हो ।

भारतले उक्त सडकलाई तीव्रता दिन अन्तर्राष्ट्रिय कानुन र नेपालको सहमतिविपरीत दुई वर्षदेखि नेपाली भूमि तम्बाकु, घाटीबगर क्षेत्रमा सडक र काठेपुल निर्माण गरेर स्काभेटर र मजदुरलाई आवतजावत गराउँदै आएको थियो । अहिले दार्चुलाको उत्तरी सीमा क्षेत्र मानव बस्तीविहीन छ । सीमा जोड्ने सडक निर्माणमा भएको ढिलाइ र राज्यको कमजोर उपस्थितिको मौका छोपेर भारतले सीमा अतिक्रमण गर्दै आइरहेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्