Logo

मदिरा कम्पनीमा देखिएन कोरोनाको असर, खुद नाफा ३४ प्रतिशतले बढ्यो



काठमाडौँ २९ वैशाख : हिमालयन डिष्टिलरी कम्पनी (HDL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफामा उलेख्य बढोत्तरी गरेको छ। चैत मसान्तसम्ममा कम्पनीले ४३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। मदिराजन्य उत्पादनमा नेपालको प्रमुख कम्पनीहरु मध्ये एक यस कम्पनीको खुद नाफा गत आर्थिक वर्षको तुलनामा११ करोड रुपैयाँ अर्थात ३३.६३ प्रतिशत बढेको हो।

गत आवको यसै अवधिमा कम्पनीले ३२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले व्यापार सामान्य खुम्चिए पनि वस्तु बिक्रीको खर्चमा उल्लेखनीय नियन्त्रण गर्दा नाफा बढेको हो।

अहिले लकडाउनका कारण मदिरा उद्योग बन्द भएको छ भने बिक्री वितरण पनि ठप्प भएको छ। लकडाउन अझै कति समय हुने यकिन नहुदा आगामी दिनमा नाफा खुम्चन सक्ने कम्पनीले जनाएको छ।

यस कम्पनीले गोल्डेन ओक ब्राण्डको मदिरा उपभोक्ताले अत्याधिक रुचाएका कारण आम्दानीमा बढ्दै गएको थियो। पछिल्लो समय उपभोक्तालाई झुक्याउनेगरी बजारमा उस्तै लेबल बोत्तल प्रयोग गर्ने, कम शक्ति र कम गुणस्तरको मदिरा बिक्री गर्ने कार्य जारी नै रहेकाले कम्पनीको ब्राण्डको पहिचान यथावत राख्न चुनैतिपुर्ण रहेको कम्पनीले जनाएको छ।

यस अवधिमा कम्पनीले व्यापारमा लाग्ने खर्च घटाएको छ। गत आवको चैत मसान्तसम्ममा २० करोड ८ लाख रुपैयाँ बिक्री वितरण खर्च रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा ११ करोड १७ लाख रुपैयाँ मात्र खर्च गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले मदिरा बिक्री गरेर एक अर्ब ८१ करोड रुपैयाँ कमाएको छ। गत आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ८६ करोड रुपैयाँ कमाएको कम्पनीको आम्दानी यस वर्ष केहि घटेको छ।

चुक्ता पूँजी ३८ करोड ५ लाख रुपैयाँबाट बढेर ५७ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष सामान्य घटेर ६४ करोड ६३ लाख रुपैयाँ कायम भएको छ। कम्पनीसँग चल अचल सम्पत्ति गरि कूल १ अर्ब ९१ करोड रुपैयाँ बराबरको सम्पति रहेको छ।

तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १०० रुपैयाँ ७६ पैसा छ। गत आर्थिक वर्षको यसै अवधिमा ११३ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी पूँजी बढ्दा केहि घटेको हो। कम्पनीको प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ७३ पैसा छ भने मूल्य आम्दानी अनुपात १२.७० गुणा छ। मेरोलागानी File photo



प्रतिक्रिया दिनुहोस्