नेपाली भूमि भएर भारतले सडक निर्माण थालेसङ्गै आफ्नो सांकेतिक उपस्थिति जनाउन सरकारले सशस्त्र प्रहरी इन्स्पेक्टर निलिबहादुर चन्दको कमाण्डमा भोलि २५ जनाको सानो टुकडी छाङ्ग्रु पठाउने भएको छ ।
दार्चुला सदरमुकामको पारिपट्टि भारतीय भूमि धार्चुलामा उताका सेनाको एउटा रेजिमेन्ट छ । अहिले २५ जना सशस्त्र जान लागेको छाङ्रुमाथि भारतीय स्थलसेनाको दुई कम्पनी, आइटिबिपी (इण्डियन टिबेट बोर्डर पुलिस ) को चार कम्पनी र एसएसबीको दुई बटालियन गरी झन्डै ३५ सय अत्याधुनिक हातहतियारसहितका फौजको तैनाथी छ । बन्दोबस्ती, हतियार र गोलिगठ्ठा हेर्दा भारतीय फौजसँग अजिंगरको र नेपाली सशस्त्रसँग बाख्राको आहारामात्रै छ । तर,देशको आवश्यकता,सीमा रक्षाजस्ता विषयको गाम्भीर्यतालाई मनन गर्दै थोरै बन्दोबस्ती नै सही, नेपाली फौज अब स्थायी रुपमै त्यहाँ बस्ने भएको हो ।
यसरी,भोलि बुधबार नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा सशस्त्र प्रहरीको डफ्फा त्यहाँ पुग्ने भएको हो । ६ महिनाको राशन, हतियार, गोलीगठ्ठा, सञ्चार सेट, कन्सोर्टिना वायर, हिमाली ज्याकेट, बुट, टोपी, पन्जा, औषधीसहि
तर,छाङ्रुमात्रै पुग्नु पनि अहिलेका लागि ठूलो विषय बन्ने स्थिति छ । किनभने,त्यो ठाउँ भनेको दार्चुला सदरमुकाम खलंगाबाट १ सय ३ किलोमीटर दुर्गम सडक छिचोलेर पुग्नुपर्छ । छाङ्ग्रुबाट १ सय ३५ किलोमीटरमाथि टिंकर पर्छ,छाङ्ग्रुमै ६ महिना नेपाल प्रहरीको ‘ख’ श्रेणीको इलाका प्रहरी कार्यालय बस्ने गर्छ ।
टिंकर त्यही ठाउँ हो, जहाँ चीनबिरोधी खम्पा विद्रोहपछि मुस्ताङबाट १८ दिन लगातार घोडा चढी भागेका कमाण्डर गे वाङ्दीको टोलीलाई शाही सेनाले ०३१ साल भाद्र २४ गते गोली हानेर मारेको थियो । वाङ्दीले त्यसबेला टिंकर नाका पार गर्न सकेको भए भारत छिरिसकेका हुन्थे । यो नाका यसकारण पनि चीन र भारत दुबै देशको निम्ति रणनैतिक महत्वको छ !
छाङ्रुमा भारतीय फौजका अत्याधुनिक भवन छन् । सामरिक महत्वका सुविधायुक्त दक्षिणी फौजको अगाडि अहिले सशस्त्र देखिनका लागि मात्रै पुग्दैछ । तर, त्यहाँ भारतीय फौजकै जस्तो हिउँ छेक्ने हिटिङ्ग सिस्टमसहित गुम्बज आकारको भवन निर्माणका लागि नेपाल सरकारबाट ९ करोड बजेट स्वीकृत भइसकेको छ । अर्को हप्ता टेण्डर खुल्दैछ । सो रकमले त्यहाँ १ सय ५० जना नेपाली फौज अट्ने घर बन्ने भएको छ ।
यस्तो भवन बन्न सकेमा हिउँद्मा बेसी (खलंगा) झर्नुपर्ने दुःखबाट प्रहरी र सशस्त्रले पार पाउनेछन् । यसबाट सीमा र ब्यापारिक नाकाको रूपमा समेत भारतले निर्वाध उपभोग गर्दै आएको त्यो ठाउँमा सामुदायिक प्रहरीको हैसियतसहित नेपाली पक्षले स्थानीय मुद्दा मामिलासमेत मिलाउन र राज्य उपस्थितिको अनुभूति दिलाउन सक्छ ! भारतीय पक्ष बाह्रै महिना अर्काको भूमिमा बस्न सक्ने,नेपालले १२ जना प्रहरीलाई छ महिना पनि टिकाउन नसक्ने-समस्या श्रोतमा हैन सोचमा देखिन्छ ।
दुर्भाग्य, अमरसिंह थापाले एकीकरण गरेर महाकाली नदीसम्म नेपाली भूभाग कायम गरी फर्केपछि नेपाल त्यताबाट अघि बढेन । विसं १८१६ को सुगौली सन्धिमा उक्त भूमि नेपालको हो भन्ने अभिलेख पनि छ । सन्धि भएको २ सय ४ वर्ष पुग्यो । थप बिडम्वना त यो पनि हो कि पुर्खाले जोडेको भूमि जोगाउन नसक्दा नेपाल सरकारको उपस्थिति ८० किलोमीटर वरको दुम्लीमै खुम्चिएको छ ।
अझ दुःखको कुरा,सेना सदरमुकाम खलंगामा मात्रै छ । राष्ट्रको सीमा मिचिएको कुरामा सेनालाई पनि चासो हुनुपर्ने हो । तर,राष्ट्रिय सेनालाई सडक र औषधीको ठेक्कापट्टामै अल्झाइएको छ ।-जनआस्थाबाट