काठमाडौं, ३० वैशाख । चीनले सगरमाथाको चुचुरोमा पुग्न तिब्बततर्फबाट बाटो बनाइरहेको छ । उसले सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो बनाउने मिसनलाई गति दिदै निर्माण सामाग्री समेत लगिरेहेको छ ।
चिनियाँ पत्रिका चाइना डेलीको अनलाइन संस्करणले आज बाटो निर्माण टोलीले आज काम गर्ने भन्दै तस्बिरसहित समाचार प्रकाशित गरेको छ । मौसमले साथ दिएमा आज काम थाल्ने उल्लेख छ ।
आइतबार ६५०० मिटर उचाईबाट बाटो निर्माण र सामान ढुवानीको टोली ७०२८ मिटरमा अवस्थित क्याम्पमा पुगेको उल्लेख छ । आज १२ जनाको टोली ७०२८ मिटरबाट अगाडि बढ्ने चाइना डेलीले जनाएको छ ।
चीनले ३० अप्रिलबाट सगरमाथाको उचाई नाप्न नयाँ चरणको कामा शुरु गरेको थियो । उसले सगरमाथालाई चोमोलोङमा भन्ने गरेको छ । यसअघि सन् १९७५ मा नाप्दा सगरमाथाको उचाई ८८८४.१३ मिटर निस्किएको थियो । सन् २००५ मा नाप्दा ८८४४.४३ मिटर निस्कएको थियो । तर, विश्वले चीनको सगरमाथा नापेर निस्किएको नापलाई मान्यता दिएको छैन ।
यसैगरी, विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा चीनले आफ्नो पनि अधिकार देखाउन खोजेको छ । उसले यसैगरी प्रचारप्रसार गर्न थालेको छ । चिनियाँ राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले ट्वीटर पेजमा शिखरको तस्बिर सहित सगरमाथाको चुचुरो चीन नेपाल सीमामा पर्छ भनी लेखेको छ । यसअघि चीनमा पर्छ भनी उल्लेख गरेपछि सच्याएपनि ‘चीन-नेपालमा सीमा’ मा पर्छ भनी उल्लेख गरेको छ ।
सगरमाथाको तस्बिरहरु राखेर चिनियाँ राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले सगरमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै प्रचारप्रसार गरेपछि सर्वत्र आलोचना भएपछि आइतबार सच्याएर ‘चीन-नेपाल सीमामा पर्छ’ भनेको थियो ।
२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको अदभुत घेरा भनी तस्बिर राखेको थियो । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो । ट्वीटर पेजमा सोही तस्बिर राखेर आइतबारबाट सर्वोच्च शिखर चीन नेपाल सीमामा पर्छ भनी उल्लेख गरिएको छ ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिकारिक टेलिभिजन हो । यो विश्व परिवेशमा चीनको आधिकारिक धारणा र समाचार प्रसारण र प्रकाशन गर्छ ।
सगरमाथाको चुचुरो नेपालमा पर्छ र यसलाई विश्वले नै स्वीकार्दै आएको छ । तर, चीनले पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालाई चोमोलोङमा भन्दै आफ्नो देशमा पर्ने प्रचार गर्न थालेको छ । उसले बाटो बनाउने देखि उचाई नाप्ने सम्मका गतिविधि अगाडि बढाएको छ ।-Photo Credit: Xinhua