Logo

स्वदेशी उत्पादन प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा मन्त्री भट्टको जोड



काठमाडौँ, ३० वैशाख : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पछिल्लो समयमा कोभिड–१९ को कारण लघु, घरेलु तथा साना उद्योगहरुमा देखा परेको समस्या समाधानका लागि आगामी बजेटमा समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र विभिन्न वस्तुगत सङ्घहरुको संयुक्त प्रतिनिधिमण्डलसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले वर्तमान अवस्थामा साना उद्योग मर्कामा परेका महसुस गर्दै व्यवसायीहरुको सुझावको आधारमा अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै गरिएको लकडाउनका कारण यस्ता उद्योगहरु मर्कामा परेका छन्, अब आउने बजेटमा समावेश गराउन मेरोतर्फबाट सक्दो पहल र प्रयत्न हुनेछ र राहतको प्याकेजमा समावेश गराउनेलगायतका विषयमा पनि हामी छलफल गरिरहेका छौँ ।”

महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले विदेशबाट आयात हुने वस्तु भन्दा स्वदेशकै उत्पादनहरुको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने माग गर्नुभयो । सरकारले लागू गरेको सार्र्वजनिक निकायमा स्वदेशी वस्तुको उपभोगसम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयन गरिनुका साथै सहजीकरण तथा अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने र निर्यात व्यापारलाई प्रोत्साहन गर्न सरकारले दिँदै आएको निर्यात सहुलियतलाई वृद्धि गरी कम्तिमा १० प्रतिशत हुनुपर्ने उहाँको भनाइ छ । रासस File photo



प्रतिक्रिया दिनुहोस्