Logo

कोरोना, सीमा विवाद र बजेटका कारण प्रधानमन्त्री ओलीलाई पार्टीमा हाईसञ्चो !



काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई अहिले पार्टीभित्र हाईसञ्चो भएको छ । पछिल्लो समय पार्टीमा उनीविरुद्ध मोर्चाबन्दी र असन्तुष्टीका स्वर मजबुद हुँदै गएको थियो । कतिसम्म अल्पमतमा परिने र आफ्नो राजीनामा मागिने भयले उनले पार्टीको स्थायी कमिटी बैठक नै राखेका थिए । वैशाख २४ गते साँझ बसेको सचिवालय बैठकले त्यसको भोलिपल्ट अर्थात वैशाख २५ गते स्थायी कमिटी बैठकको लागि एजेण्डा तय गर्ने र प्रस्ताव तयार पार्ने भनिएको थियो । तर, सचिवालय बैठकको सुरुवातमा आफ्ना भनाई राखेपछि नेताहरुसँग चर्काचर्की परेपछि उनी बैठक कक्षबाट बाहिरिएका थिए ।

प्रधानमन्त्री ओलीले नै सचिवालय बैठक छोडेपछि वैशाख २५ गतेको स्थायी कमिटी बैठक स्थगित् भएको थियो । बैठक राख्नको लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै प्रयत्न गरेका थिए । तर, ओलीले दाहालको कुरा सुन्दै सुनेन् । दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले ओलीविरुद्ध मोर्चाबन्दी कसेका छन् । दाहाल नेपाल समूहले पार्टीमा अब विधानअनुसार एक व्यक्ति, एक पद लागु गर्नुपर्ने आवाज उठाउँदै आएको छ । यही माग स्थायी कमिटीमा पनि उठ्ने सुईंको पाएपछि ओलीले बैठक छल्दै आएको कुरा नेकपाकै स्थायी कमिटी सदस्यहरुले आरोप लगाएका छन् ।

अहिले मुलुकमा कोरोना महामारी, सीमा विवादको विषय र बजेटको चटारो छ । यी तीन विषयका कारण प्रधानमन्त्री ओलीलाई पार्टीमा हाईसञ्चो भएको छ । अहिले नेकपाका नेताहरु यी तीन विषयमा केन्द्रित भएका छन् । यसअघि प्रधानमन्त्री ओलीको राजीनामा माग्ने दाहाल नेपाल समूहका नेताहरुले समेत आफूहरुले प्रधानमन्त्रीको राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनीहरुले कोरोनाविरुद्ध एक ढिक्का भएर लड्नुपर्ने बताउँदै आएका छन् । अहिले भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जाने सडक निर्माण गरेपछि भारतीय कदमको नेपालमा चौतर्फी विरोध भैरहेको छ । नेकपाका अध्यक्षद्धय ओली र दाहालले विज्ञप्ती निकालेर नै कोरोनाको महामारीको यो बेलामा भारतले गलत कदम चालेको भन्दै अविलम्ब सडक निर्माण कार्य स्थगित् गर्न आग्रह गरेको थियो ।

पार्टीभित्र अब कोरोना, भारतीय अतिक्रमण र बजेटमा केन्द्रित रहेर बहस तथा छलफल हुनुपर्ने आवाज उठ्न थालेको छ । नेकपाको स्थायी कमिटी बैठक भोलि विहान ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । तर, भोलिको बेठकमा प्रधानमन्त्री ओली लक्षित कुनैपनि आलोचना वा विरोध नहुने कुरा अर्का अध्यक्ष दाहालले ओलीलाई आश्वस्त पारेको बुझिएको छ । भोलिको बैठकमा नीति तथा कार्यक्रम, बजेट र सीमा समस्याबारे मात्रै छलफल हुने र कुनै राजनीतिक प्रस्ताव स्थायी कमिटस् सदस्यहरुलाई नगएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जनाए । उनले सरकार र पार्टीको विषयमा बजेट पछि नै छलफल हुनेपनि जानकारी दिए ।

नेकपा स्रोतकाअनुसार कम्तिमा जेठ १५ गते अर्थात बजेट जारी नहुञ्जेलसम्म नेकपामा अब प्रधानमन्त्री ओलीलाई हटाउने विषयमा कुनै छलफल वा बहस हुनेछैन् । त्यसैले कतिपयले कोरोना, भारतसँगको सीमा विवादको विषय र बजेटका कारण केपी ओलीलाई पार्टीभित्र हाईसञ्चो भएको समेत टिप्पणी गर्न थालेका छन्।

File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot