Logo

अन्तरजिल्ला पास खारेज, काठमाडौँ आउन गृहको लिखित स्वीकृति चाहिने



काठमाडौंँ, ३१ वैशाख । एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ ।

यस्तै, कुनै जिल्लाबाट काठमाडौँ कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृती लिएर मात्र पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताएका छन् । यस्तै अर्को जिल्लामा जानका लागि पास दिँदा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर मात्र पास दिनु पर्नेछ ।

गृह मन्त्रालयका अनुसार देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै बिहीबारदेखि लागू हुने गरी यस्तो निर्णय भएको हो । यसअघि कार्यालयको परिचयपत्र देखाएर आवतजावत गर्ने गरेकोमा अब सम्बन्धित निकायले जारी गरेको पासका आधारमा मात्र अनुमति पाइनेछ । सञ्चारकर्मीका हकमा भने सूचना विभागबाट जारी गरिएको पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्