Logo

टिङ्करसम्मको सडक निर्माण सुस्त



काठमाडौँ, ३१ वैशाख । दस वर्ष पहिलेबाट निर्माण सुरु गरिएको महाकाली कोेरिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्मको सडक निर्माण सुस्त भएको छ ।

यो सडक निर्माणपछि कञ्चनपुरको ब्रह्मदेव बजारदेखि झुलाघाट, दार्चुला र टिङ्कर हुँदै कालापानीसम्म पुग्न सहज हुने भए पनि यो यसको निर्माणले तीव्रता पाउन सकेको छैन । टिङ्करपछि कालापानी आउँछ । कालापानीको खोँचमा अहिले भारतीय सेनाको क्याम्प छ । अहिले टिङ्कर भञ्ज्याङको दक्षिणपट्टि नेपाली बस्ती रहे पनि उत्तरतर्फ नेपाली बस्ती छैन । आवश्यक बजेटको अभाव, आयोजना कार्यालय र निर्माण कम्पनीकोे बेवास्ताका कारण एक दशकको अवधिमा कुल ४२५ किलोमिटर रहेको यस सडकको अहिलेसम्म जम्मा १२५ किलोमिटरमा मात्र ट्र्याक खोल्ने काम सम्पन्न भएको हो ।

चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०६५/६६ बाट बजेट विनियोजन गरी सुदूूरपश्चिमको ‘माइलस्टोन प्रोजेक्ट’ नाम दिइएको यो सडकको निर्माण सुरु भएको हो । २०६४ सालमै यो सडकको ‘सर्भे’ गरिएको थियो । यो सडकको निर्माण सम्पन्न गर्न कुल २० अर्ब रुपियाँ खर्च हुने अनुमान गरिए पनि अहिलेसम्म सवा अर्ब रुपियाँ मात्र खर्च हुन सकेको सो सडक आयोजनाले जनाएको छ । यो आयोजनाका लागि चालू आर्थिक वर्षमा ३२ करोड ६८ लाख रुपियाँ विनियोजन गरिएको छ । दार्चुला–टिङ्कर सडक योजनाका प्रमुख अच्युतविलास पन्तले कठिन भूगोल र कडा चट्टानका कारण निर्माण कार्य आशातीत रूपमा अगाडि बढाउन अप्ठ्यारो भएको बताएका छन् । उनका अनुसार उक्त सडक निर्माणका लागि अहिले ट्र्याक खोल्ने काम तीव्र रूपमा भइरहेको छ ।

ट्र्याक खोलिसकिएको ठाउँमा अहिले छ चरणमा काम भइरहेको समेत उनले जानकारी दिएका छन् । दुईवटा पुल र चारवटा सडक खण्डमा अहिले काम भइरहेको हो । दार्चुलाको सदरमुकामदेखि १३४ किलोमिटरको दूूरीमा टिङ्कर पर्छ, जसमध्ये अहिले ४७ किलोमिटरमा काम भइरहेको जानकारी उनले दिएका छन् । उनका अनुसार डडेल्धुरामा एघार किलोमिटर, दार्चुलामा ५२ र बैतडीमा ६२ किलोमिटर गरी १२५ किलोमिटर ट्र्याक खोलिएको हो । यस सडक आयोजनाअन्तर्गत दार्चुलामा २१२, बैतडीमा १४४, डडेल्धुरामा ५८ र कञ्चनपुरमा ११ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्