Logo

सबै प्रदेशको वृद्धिदर खुम्चिने सुदूरपश्चिम अगाडि, बाग्मती पछाडि



काठमाडौँ, ३१ वैशाख । कोरोना भाइरस सङ्क्रमणका कारण समग्र अर्थतन्त्रको वृद्धिदर २.२७ प्रतिशतमा खुम्चिने प्रक्षेपण भएकामा यसको असर प्रदेशगत वृद्धिदरमा पनि देखिने भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको कुल गार्हथ्य उत्पादनमा प्रदेशगत योगदानसम्बन्धी तथ्याङ्कअनुसार सबै प्रदेशको वृद्धिदर खुम्चिने अनुमान गरिएको हो । विभागका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्नेमा सुदूरपश्चिम प्रदेश हुनेछ । चालू आवमा ४.०९ प्रतिशतको वृद्धिदरसहित यो प्रदेशको जीडीपीको आकार दुई खर्ब ७२ अर्बमा पुग्ने अनुमान छ । राष्ट्रिय तहको जीडीपीमा यसको योगदान ७.२१ पुग्ने प्रक्षेपण छ । वृद्धिदरको हिसाबले सबैभन्दा पछाडि बाग्मती प्रदेश हुनेछ । विभागले यस प्रदेशको वृद्धिदर १.२३ प्रतिशत हुने अनुमान गरेको छ । कुल १३ खर्ब ५० अर्ब रुपियाँ जीडीपीको आकारसहित बाग्मतीको राष्ट्रिय तहमा योगदान भने ३५.८४ प्रतिशत पुग्ने आकलन गरिएको छ ।

चालू आवमा प्रदेश १ को आर्थिक वृद्धिदर ३.४१ प्रतिशत मात्र कायम भई पाँच खर्ब ९६ अर्ब रुपियाँ पुग्ने अनुमान छ । राष्ट्रिय अर्थतन्त्रमा यस प्रदेशको योगदान १५.८२ प्रतिशत पुग्नेछ । गत आवमा सबैभन्दा धेरै वृद्धिदर गर्न सफल प्रदेश २ को वृद्धिदर यस आवमा भने २.२८ प्रतिशतमा खुम्चिने अनुमान छ । कुल पाँच खर्ब १९ अर्ब रुपियाँको अर्थतन्त्रको आकारसहित कुल अर्थतन्त्रमा यसको योगदान १३.७८ प्रतिशत पुग्ने प्रक्षेपण छ । त्यस्तै गण्डकी प्रदेशमा जीडीपीको वृद्धिदर २.६८ प्रतिशत पुग्ने अनुमान छ । यस प्रदेशको राष्ट्रिय तहको जीडीपीमा ८.९० प्रतिशत योगदान पुग्ने अनुमान छ । जीडीपीको आकार भने तीन खर्ब ३५ अर्ब पुग्ने अनुमान गरिएको छ ।

प्रदेश ५ को वृद्धिदर २ प्रतिशतमा खुम्चिएर पाँच खर्ब ३४ अर्ब रुपियाँ पुग्नेछ । यसको योगदान १४.१८ प्रतिशत हुनेछ । अघिल्लो आवमा यस प्रदेशको योगदान पनि १४.१८ प्रतिशत नै थियो । कुल राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा कम योगदान रहेको कर्णाली प्रदेशको वृद्धिदर ३.५८ प्रतिशत हुनेछ । विभागका अनुसार चालू आवमा यस प्रदेशको अर्थतन्त्रको आकार एक खर्ब ६१ अर्ब रुपियाँ हुनेछ । यसको हिस्सा ४.२७ प्रतिशत हुनेछ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्