काठमाडौं, ३१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका दुई नेताबीचको विवाद छताछुल्ल भएको छ । आज नेकपा स्थायी कमिटिको बैठक स्थगित हुनुमा भीम रावल कहाँ खटाइएका सशस्त्र प्रहरी जवानलाई कोरोना भाइरसको पुष्टि हुनु रहेको भन्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बोलेपछि विवाद बाहिर आएको हो ।
उज्यालो रेडियो नेटवर्कसँग रिमालले स्थायी कमिटि बैठक स्थगित हुनुको कारण रावल कहाँ खटाइएका एक प्रहरीमा कोरोना संक्रमण भएको कारण भनी बोलेका थिए । लगत्तै रावलले ट्वटी गर्दै यस्तै मती र बुद्धिले समस्या बढेको टिप्पणी गरेका छन् । रावल र रिमालबीच लामो समययता विवाद छ । तर, यो बाहिर आएको थिएन । रावल प्रधानमन्त्री केपी शर्मा ओलीका कटु आलोचक हुन् ।
यसअघि रावलले ट्वीट गर्दै सबै स्थायी कमिटि सदस्यहरुको पीसीआर परीक्षण नभएकाले बैठक स्थगित गरियो भन्नु षड्यन्त्रकारी राजनीति हो भनी उल्लेख गरेका थिए ।
यसअघि आज विहान बस्ने तय भएको नेकपा स्थायी कमिटि बैठक स्थगित भएको थियो । स्थायी कमिटि सदस्य मणि थापाका अनुसार सबै स्थायी समिति सदस्यहरुको कोरोना टेष्ट गरेपछि मात्र बैठक राकिनेछ । अर्का स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझीले केही स्थायी कमिटि सदस्यको कोरोना टेष्ट हुन बाँकी रहेकाले पनि बैठक स्थगित भएको बताएका थिए ।
स्थायी कमिटि सदस्य भीम रावलका सुरक्षागार्डलाई कोरोना भाइरसको संक्रमणभएलगत्तै बैठक स्थगितको मुख्य कारण देखाइएको छ । भक्तपुर दुवाकोटमा अस्थायी रुपमा बस्दै आएका २७ वर्षीय सशस्त्र प्रहरी जवानको हिजो कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी रावलका सुरक्षामा खटिएको टोलीमा रहेको खुलेको थियो । तर, रावलले उनी एक महिनायता श्रीमती सुत्केरी भएर घरबिदामा बसेको बताएका छन् ।