Logo

बेबारिस पास टाँसेर मध्यराति आइपुगेकाका कारण इमाडोलमा त्रास



काठमाडौं, १ जेठ । बेवारिसे पास टाँसेको सरकारी प्लेटको स १ झ ५४१ नं. को स्कोरपियो जीप पाँच जनासहित हिजो राति ललितपुरको इमाडोलमा आइपुगेपछि एक किसिमको आतंक नै मच्चियो । भारतसँग सीमा जोडिएको जिल्लाका मानिस आएकाले स्थानीय एकाएक सशंकित देखिएका हुन् ।

गाडीमा गोलबजार नगरपालिकाका मेयर देवनाथ साहसहितका पाँचजना छोरीको घरमा पाहुना आएका थिए । मेयरले स्थानीयलाई पहिले एलर्जीको उपचारका लागि आएको बताएपनि पछि मुटुको समस्याले काठमाडौं आउनुपरेको बताए ।

संयोग,महेन्द्रनगर र सुनसरीबाट आएकामध्ये काठमाडौंमा एकजना र भक्तपुरमा दुईजनालाई हिजो मात्रै कोरोना पुष्टि भयो । त्यसले पनि आफूहरुलाई झन् बढी त्रसित बनाएको इमाडोलबासीले बताएका छन् । गत आइतबार महेन्द्रनगर र सुनसरीबाट काठमाडौं आएका कोरोना संक्रमितले क्रमशः चार पाँग्रे र मोटरसाईकलको पास लिएका थिए ।

मेयर साहको गाडीमा टाँसिएको पहेँलो रंगको पास कुन निकायले जारी गरेको हो भन्ने कुनै प्रमाण देखिँदैन । न प्रहरी, न प्रशासन, न सेना कसैको पनि छाप र दस्तखत देखिँदैन । यस्तो नक्कली पासका कारण पनि जनमानसमा आशंका बढेको हो । सिरहादेखि झण्डै एक सयवटा ठूला साना प्रहरी चेकपोष्ट पार गरेर उक्त गाडी कसरी काठमाडौं आईपुग्यो ? सबै चकित छन् । यस्तै खालका बेवारिसे पास लिएर लकडाउनको बिचमा अरु कतिजना राजधानी छिरे होलान् ? केन्द्र, प्रदेश वा स्थानीय निकाय कसैसँग आँकडा छैन ।

झण्डै दुई महिनादेखिको लकडाउनलाई विश्लेषण गर्दा यो सर्वसाधारण र निमुखालाई मात्र लागू गरिएको देखिएको छ । राजनीतिक र प्रशासनिक पहुँच भएका कतिपयले यसबीचमा काठमाडौं मात्र होइन नेपाल पूरै घुम्न भ्याएका छन् । तर, यतिखेर तिनको स्वास्थ्य परिक्षण कसले र कहाँ गर्यो भन्ने चासो सबैभन्दा महत्वपूर्ण हुन्छ । अहिले त्यहि चासोले हरेक गाउँ, शहरका टोल तथा छिमेकीबीच अविश्वास र आशंका बढाइदिएको छ । यति हुँदाहुँदै पनि महामारी र त्रासका बीचसमेत हामीले सामाजिक सद्भाव खलबलिन नदिने वातावरण बनाउनुपर्ने जिम्मेवारी पनि आएको छ ।-जनआस्थाबाट



प्रतिक्रिया दिनुहोस्