Logo

समुदायमा पस्यो कोरोना भाइरस, खतराको घन्टी बज्यो



काठमाडौं, १ जेठ । शुरुमा विदेशबाट आउनेमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण देशको कुना काप्चासम्म पुग्न थालेको छ । देशका झण्डै आधा जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिइसकेका छन् । यसले त्रास बढाएको छ ।

टेकुस्थित सरुवा रोग अस्पतालका सरुवा रोग विज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरस अब निकै बढ्न सक्ने बताएका छन् । उनले ट्वीट गर्दै ३१ वैशाखमा बढ्ने संकेत गरेका हुन् ।

संक्रमण शुरुमा मुसलमान समुदायमा फैलिएको थियो । तब्लिगी जमाती र उनीहरुको सम्पर्कमा आएकाहरु बढी संक्रमित भएका थिए । उदयपुर एउटै जिल्लाको एकै स्थानमा ३० जनामा संक्रमण देखिएको थियो । पर्सामा पनि जमातीमा देखिएको थियो । तर, पछिल्लो समय अन्य समुदायमा पनि संक्रमण देखिन थालेको छ ।

कपिलवस्तुमा संक्रमण ह्वात्तै बढेको छ । पर्सा पनि कोरोना भाइरसको संक्रमणको केन्द्रबिन्दु बन्न पुगेको छ । तराईका अधिकांश जिल्लामा संक्रमण देखिएको छ ।

भारतमा आप्रवासी मजदुरहरुलाई घर जान दिन लकडाउन खुकुलो गर्दै रेल सञ्चालनमा आएपछि नेपालमा कोरोना भाइरसका संक्रमित बढेका हुन् । संक्रमितमध्ये अधिकांश लकडाउनका बखत हालै नेपाल लुकिछिपी पसेको भेटिएको छ । भारतको कुनैपनि कदमले नेपालको कोरोना भाइरस संक्रमणको तथ्यांकमा सिधा असर देखिनथालेको छ ।

यसैगरी, कार्यक्षेत्रमा खटिएका प्रहरी र सशस्त्र प्रहरीमा पनि संक्रमण देखिएको छ । यो सबैभन्दा खतराको संकेत हो । भौतिक दुरी कायम गर्न नसक्ने क्षेत्रका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि त्यो छिट्टै फैलन सक्छ ।

अस्पतालका स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यका भित्र र बाहिरका स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि जोखिम बढेको छ ।

कार्यक्षेत्रमा खटिएका पत्रकारहरुमा पनि संक्रमण फैलिएको छ । पर्सा र जनकपुरमा पत्रकारहरुमा संक्रमण देखिएको हो । उनीहरु कामका सिलसिलामा धेरै स्थानमा पुगेको र भेटेको पत्ता लागेबाट फैलन सम्भावना बढेको हो ।

काठमाडौं उपत्यकामा धमाधम कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । शहरी क्षेत्रमा संक्रमण बढ्दै जानुले अवस्था जटिल बनाएको छ ।

सरकारले कोरोना भाइरसको जोखिम बढेसँगै १ जेठबाट लागू हुनेगरी आवागमनमा कडाई गरेको छ । यसअघि वितरित सवारी पास सबै रद्द गरेको छ । नयाँ पास लिन कडा गरेको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान पनि कडाई गरेको छ ।

विश्व स्वास्थय संगठनले कोरोना भाइरस कहिले उन्मुलन नहुने भन्दै खतरा औल्याएको छ । विश्व स्वास्थ्य संगठनका आकस्मिक निकाय हेर्ने निर्देशक डा. माइक रेनले बुधबार नियमित ब्रिफिङका क्रममा भ्याक्सिन पत्ता लागेपछि पनि यसलाई नियन्त्रण गर्न ठुलो शक्ति लगाउनुपर्ने बाए ।

‘यो भाइरस हाम्रो समुदायमा अर्को महामारी बनेको छ र यो भाइरस कहिल्यै नष्ट नहुनसक्छ,’ डा. रेनले जेनेभामा आयोजित नियपित प्रेस ब्रिफिङमा भने । उनले एचआइभी नष्ट नभएको समेत स्मरण गराए ।

सँसारभर एक सयवटा भ्याक्सिन विकासको प्रयास भइरहेको उल्लेख गरे । भ्याक्सिन विकास भइहाले पनि त्यसबाट कोरोना भाइरस नष्ट नभइहाल्ने बताए । यसबाट पनि कोरोना भाइरसको जोखिम निकै रहेको देखिदैछ । नेपालमा समुदायमा फैलिएपछि संकट बढ्ने देखिदैछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्