खलङ्गा,१ जेठ : जुम्लाको सिँजा गाउँपालिकाले मेडिकल मार्च शुरु गरेको छ । कोरोना भाइरसको त्रास बढिरहेका बेला गाउँपालिकाले विशेषज्ञ चिकित्सक लिएर ‘मेडिकल मार्च’ शुरु गरेको हो । सिँजा –३ नराकोट स्वास्थ्यचौकीबाट शुरु भएको अभियान एक महिनासम्म चल्ने गाउँपालिका अध्यक्ष देवलसिंह रावतले बताउनुभयो ।
मार्चअन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट यहाँका स्थानीयवासीको स्वास्थ्य जाँच शुरु भएको छ । कर्णाली प्रदेश सरकारको समन्वयमा पहिलो पटक गाउँपालिकाभित्र विशेषज्ञ सेवासहितको ‘मेडिकल मार्च’ शुरु भएको गाउँपालिका अध्यक्ष रावलले बताउनुभयो ।
पत्रकारको पिसिआर परीक्षण
कर्णाली प्रदेश सरकारले यहाँ कार्यरत पत्रकारको स्वाब संकलन गरी कोरोना परीक्षण गर्ने भएको छ । पहिलो चरणमा बुधबार सुर्खेतमा कार्यरत ४३ पत्रकारको स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतका अनुसार सोमबार स्वाब संकलन गर्न छुटेका पत्रकारको आज बिहीबार स्वाब संकलन गरिने जनाएको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले यहाँका १० वटै जिल्लाका पत्रकारको स्वाब संकलन गरी परीक्षण गरिने बताउनुभयो । रासस File Photo