Logo

कहाँ पुग्यो नेकपाभित्रको झमेला



काठमाडौं, १ जेठ । बुधबार बस्नेपर्ने नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठक भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानलाई कोरोना भाइरसको संक्रमण भएको बहानामा स्थगित भयो । यसले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हाइसञ्चो भएको छ । ओली बैठक बोलाउने पक्षमा थिएनन् । २० जना स्थायी समिति सदस्यले बारम्बार बैठक माग गरेपछि वाध्य भएका थिए ।

भीम रावलको सुरक्षामा खटिएकालाई कोरोना संक्रमण हुनु पनि बैठक स्थगितको कारण हो भनी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले रेडियो अन्तवार्तामा बोलिहाले । लगत्तै भीम रावलले रिमालको आलोचना गरे । रिमालको बुद्धि र मतिमाथि नै प्रश्न उठाए । यसलाई बैठक छल्ने बहानाबाजी भने ।

स्थायी कमिटि बैठक अनिश्चित भएपछि ओली विरोधीहरुको अस्त्र भुत्ते हुने सम्भावना बढेको छ । एक व्यक्ति एक पद, सीमा विवादमा सरकारको भुमिका, सांसद अपहरण दाबी गरिएको विषय उठाएर ओलीलाई दबाबमा राख्ने योजना तत्काललाई तुहिएको छ । अब रात रहे अग्राघ पलाउँछ भनेझैं विषयहरु सेलाउन सक्छन् ।

ओलीको दिनदशा बलियो रहेछ भन्ने चर्चा नेकपाभित्र चलेको छ । उनको सत्ता संकट बढ्दा कोरोना भाइरसको महामारी बढ्नुले पनि तत्काललाई कसैले हटाउन नसक्ने देखिएको छ । ओलीले राजनीतिक अस्त्र फयाँकेर पार्टीभित्रका विरोधीलाई विफल बनाइदिए । उनले यसपटक फेरि बामदेव गौतमलाई सांसद बनाएर प्रधानमन्त्री बनाउने अस्त्र फाले । तर, यो अस्त्र प्रत्युत्पादक बन्ने सम्भावना उत्तिकै छ ।

अब बस्ने नेकपा बैठकमा सचिवालयले गरेको निर्णय पालना गर्ने विषय उठ्नसक्छ । जसमा बामदेवलाई सांसद बनाउने विषय प्राथमिकतामा पर्छ । हुनत विगतमा पनि बामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय भएको थियो तर पालना भए । नेकपामा निर्णय हुने र पालना नहुने धेरै विषय छन् ।

तत्काललाई नेकपाको विवाद कोरोना भाइरस फैलिनुले नेताहरुकै भेटघाट पातलो हुँदा थामिएको छ । तर, सरकार आधा कार्यकाल पूरा गर्नै लाग्दा अनेकन झमेलाहरु उठ्न सक्छन् । ओलीलाई लकडाउन सम्म हाइसञ्चो भएको छ तर त्यसपछि भने संकट बढ्ने सम्भावना बलियो छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्