Logo

दुई दिनको शेयर कारोबार रद्द गर्न लगानीकर्ता संघहरुको माग



काठमाडौँ १ जेठ : लगानीकर्ता संघहरुले लकडाउनको समयमा खुलेको शेयर बजारमा भएको गत दुई दिनको शेयर कारोबार रद्द गर्न माग गरेका छन्। विगत २ दिनमा लगानीकर्ताहरूको न्यून सहभागिता र न्यून संख्यामा भएका शेयर कारोवारलाई रद्द गरी वहुसंख्यक लगानीकर्ताहरूको व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहयोग गर्न नियामक निकाय धितोपत्र बोर्डलाई अनुरोध गरेका हुन् ।

चारवटा संगठनले एक विज्ञप्ति जारी गर्दै आगामी दिनमा कारोवार संचालन गर्दा कोरोना भाईरसको प्रभाव अन्त्य नभएसम्मको लागि उपयुक्त विकल्पको खोजी गरी र पूर्ण स्वचालित प्रविधिलाई प्राथमिकतामा राखी कारोवार गराउन आग्रह गरेका छन्।

हाल संचालनमा रहेको अनलाईन प्रणालीमा व्यापक सुधार गरी सबै लगानीकर्ताहरूले उक्त प्रणालीमा सहभागी हुन सक्ने लगानि मैत्री वातावरण सिर्जना गर्न उनीहरूले माग गरेका छन् ।

विगत २ दिनको कारोवारले लगानीकर्ताहरूको १६ लाख ५९ हजार ०९१ डिम्याट होल्डर मध्ये पहिलो दिन १६७१ जनाले भाग लिएका र जसमध्ये ८८४ जना अनलाईन मार्फत सहभागिता जनाएका थिए। दोश्रो दिन १३५४ जना कारोवारमा संलग्न भएका मध्ये ७६९ जना अनलाईन मार्फत शेयर कारोवारमा संलग्न भएका थिए। यसले डिम्याट होल्डर मध्ये कारोवारमा संलग्न ०.०४ प्रतिशत मात्रै हुन आउँछ र कारोवारको रकममा समेत व्यापक संकुचन आएको थियो। अनलाईन लिएका लगानीकर्ताहरू २७,२५२ मध्ये क्रमशः ८८४ र ७६९ जनाले मात्रै सहभागिता जनाउँदा करिव ५ प्रतिशत मात्रै प्रतिनिधित्व हुन्छ जसले बजारमा अत्यन्तै न्यून सहभागिता जनाएको पुष्टि भएको र बहुसंख्यक लगानिकर्ताको प्रतिनिधित्व नभएको लगानीकर्ताहरुको भनाई छ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्