Logo

अज्ञात रोगले गोलभेँडा खेती सखाप, किसान मारमा



काठमाडौँ, २ जेठ । अज्ञात रोगले गोलभेँडा खेती नष्ट पारेपछि जाजरकोटको भेरी नगरपालिकाका किसान चिन्तित बनेका छन् । गोलभेडामा रोगको सङ्क्रमण फैलिएर बाली नै नष्ट भएपछि भेरी नगरपालिका– १, ४, ११ का किसान चिन्तित भएका हुन् ।

आम्दानीको राम्रो स्रोत भएको टमाटरको बिक्रीबाट भएको आम्दानीले दैनिक घर खर्चदेखि छोराछोरी पढाउँदै आएका यहाँका किसान निकै मारमा परेका छन् । बिहीबार खेतबारीमै कृषि प्राविधिक लिएर गएकी भेरी नगरपालिका–११ की कालुदेवी पुन मगरले सबै टमाटर देखाएका थिए । फल लागेर लटरम्म फलेका टमाटर सबै जमिनभरि राताम्य भएर गलेको देखेपछि कृषि प्राविधिकसमेत अनौठो मान्दै हैरान भएका छन् ।

कृषि प्राविधिक यज्ञ अधिकारीले भने, “शुरुमा भएको भए केही औषधि गर्न सकिथ्यो, अब सबै फल पाकिसकेकाले केही उपाय छैन ।” यो कुरा सुनेपछि अर्का कृषक तिले रोकायले झन् चिन्ता थपिएको बताएका छन् । उनले भने, “भेरी नगरपालिकाको पकेट क्षेत्रमा लगाएको टमाटर खेती सबै सखाप भयो, हाम्रो आम्दानीको मुख्य स्रोत बन्द भयो, अब के गर्ने ?” तरकारीखेतीबाटै जीविकोपार्जन गरिरहेका किसानले लगाएको गोलभेँडा गलेपछि चिन्तित बनेको रोकायले बताएका छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्