Logo

नेपाल फर्कन पाए बाँच्ने थिएँ



नितेषकुमार यादवः मेरो नाम नितेषकुमार यादव हो । घर सिराहा मिर्चैया हो । म रोजगारीको सिलसिलामा दुबईमा छु । म दुबई आएको २७ महिनाजति भयो । मलाई कोरोना भाइरसको संक्रमण भएको छ । यहाँ एउटा रुममा राखिदिएको छ । उपचार गर्न अस्पताल लगिएको छैन । कम्पनीले पनि आज आउँछ, भोलि आउँछ भन्छ ।

मेरो उपचारका लागि केही भएको छैन । मलाई बँचाउनुहोस् । नेपाल आउन पाएँ म बाँच्ने थिएँ । मलाई यिनीहरुले केही गर्दैनन् ।
म करिब एक महिना अगाडिदेखि नै घर जान भनेर आँटेको थिएँ । कम्पनिसँग कुरा गरेर रुममा पुगेँ । त्यसपछि मलाई धेरै ज्वरो आयो । टाउको पनि दुखिरहेछ । आज ४, ५ दिनदेखि एउटा रुमा राखिएको छ । अस्पतालबाट मान्छे आएको छैन । मलाई बँचाउनुस् ।

मेरो अवस्था गम्भीर छ । खासगरी टाउको दुख्छ । सास फेर्न पनि अप्ठ्यारो भइरहेको छ । तातो पानी खाएर बसेको छु । विगत ४ दिनदेखि खाना पनि केही रुच्दैन ।

मलाई ज्वरो आएको छ । घाँटी पोल्छ । टाउको पोल्छ । मलाई एम्बुलेन्समा आएर धड्कन चेक गरिन्छ अनि ठिकै छ भनेर जान्छन् । अरु केही केही उपचार गरिएकै छैन

म प्रधानमन्त्रीज्यूलाई भन्न चाहान्छु कि मलाई नेपाल आउने व्यवस्था मिलाइदिनुपर्यो । नभए यही भएपनि अस्पताल जान पाए म बाँच्न सक्ने थिएँ ।

मसँग अर्को एकजना नेपाली पनि छन् । यतापट्टि म एक्लै हो । मलाई चाहीं छुट्टै रुममा राखेको छ । उपचार भएको छैन ।
नेपाली दूतावासलाईं फोन गरेको ३ दिन भइसक्यो । आज आउँछु, भोलि आउँछु भन्छन् तर कोही आउँदैनन् ।

घरपरिवारसँग कुरा त हुन्छ तर म ठिकै छु, ठिकै छु भन्ने गरेको छु । घरका मान्छेले पीर गर्छन् भन्ने लाग्छ । त्यसैले भनेको छैन ।
मसँग अहिले त पैसा छ । पैसा भएर मात्र हुँदैन नि ।

प्रधानमन्त्री केपी शर्मा ओलीजी, स्वास्थ्यमन्त्री र नेपाल सरकारलाई भन्न चाहन्छु, ‘मलाई नेपाल लगेर उपचार गराइदिन्स्’ त्यतिभए बाँच्नेथिएँ । ऋषि धमलासँग दुबईमा रहेका नितेषकुमार यादवले टेलिफोनमा कुराकानी गरेकोमा आधारित



प्रतिक्रिया दिनुहोस्