Logo

लकडाउनमा थप कडाइ, प्रदेशसभा सदस्यलाई फिर्ता पठाइयो



चितवन, २ जेठ : कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडा गरेको छ । जिल्लाका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ । अत्यावश्यक सवारी साधन मात्र चलेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार नारायणी पुलबाट एक प्रदेशसभा सदस्यलाई समेत फिर्ता गरिएको छ । सवारी अनुमतिपत्र नलिइ आउनुभएका उहाँलाई सम्झाएर पठाइएको हो । उहाँले भन्नुभयो, “अत्यावश्यकबाहेक कसैलाई पनि जिल्ला छिर्न दिइएको छैन ।” यसै जिल्ला हुँदै राजधानी प्रवेश र बाहिरिनेको सङ्ख्या बढी हुने गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार भीडभाड नगरी बैंक सञ्चालन गर्न दिइएको छ । भीड भएका बैंक तत्काल वन्द गर्न लगाइएको छ । दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मी र पत्रकारका सवारी साधन चलेका छन् । औषधि, दूूध, तरकारी र खाद्यान्न ढुवानीका सवारीसाधनलाई मात्र चल्न दिइएको उहाँले जानकारी दिनुभयो ।

यससँगै स्थानीय प्रशासनले अनुगमनमा तीव्रता दिएको छ । अटेर गर्नेलाई कारवाही गरिएको छ । सवारी जाँच बढाएसँगै आवतजावत पनि घटेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका नायब प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार बिहीबारबिना अनुमति हिँडडुल गर्ने ३८ सवारी साधन र १५ जनालाई नियन्त्रणमा लिइएको थियो । व्यक्तिहरुलाई छाडिएको छ भने सवारी साधन प्रहरीले राखेको छ । लकडाउन शुरु भएयता जिल्लामा एक हजार १८८ सवारी साधन नियन्त्रणमा लिइ कारवाही गरिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्