एजेन्सी, २ जेठ । भारतीय सेनापति एम एम नरभानाले कालापानीको विषयमा नेपाल र भारतबीच कुनै विवाद नरहेको बताउँदै कसैको उक्साहटमा नेपाल सरकारले भारतले लिपुलेक हुँदै निर्माण गरिरहेको रणनीतिक लिंकरोडको विरोध गरिरहेको आशंका व्यक्त गरेका छन् । उनले चीनतर्फ संकेत गर्दै ‘कसैको उक्साहटमा यो सबै भइरहेको’ टिप्पणी गरेका हुन् ।
‘उनीहरु (नेपाल) ले यो विषय कसैको उक्साहटमा उठाइरहेका छन्,’ भारतीय सेनापति एम एम नरभानेको भनाई उदृत गर्दै इन्डियन डिफेन्स रिसर्च विङको अनलाइन संस्करणले भनेको छ, “म यसमा कुनै विवाद देख्दिनँ । नेपालका राजदुतले कालापानी नदीको पूर्वतर्फ हाम्रो भन्नुभएको छ । सडक त्यसको पश्चिमतर्फ छ । यसैले म जान्दिनँ कि उनीहरु के मा विरोध गरिरहेका छन्छ ।’
भारतीय सेनापतिले द मनोहर परिकार इन्स्टिच्युट अफ डिफेन्स स्टिडिज एन्ड एनालाइसिस आइडिएसले शुक्रबार आयोजना गरेको वेविनारमा नाम नलिइकन चीनको आलोचना गरेका छन् ।
भारतीय सेनापतिको टिप्पणी चीनतर्फ पनि इंकित रहेको बताइएको छ । डिफेन्स रिसर्च विङले काठमाडौंलाई चीनले भारतसँगको कतिपय विषयमा उक्साइरहेको भनेको छ । भारतीय सेनापति नरभानेले चीनको नाम नलिई नेपाललाई भारतविरुद्ध उक्साइरहेको आरोप लगाए ।
नेपाली भुमी लिपुलेक हुँदै भारतले ८० किलोमिटर लम्बाईको चीनसँगको लिंकरोड निर्माणको उदघाटन गरेपछि देशमा भारतको कदमको चौतर्फी विरोध भइरहँदा भारतीय सेनापतिको पछिल्लो भनाई आएको हो । कालापानीको पश्चिमतर्फको भागमा भारतीय सेना बसेकोबारे विगत देखि नै विरोध हुँदै आएको थियो ।
भारत र चीनका सैनिकबीच सिक्किममा यसै हप्ता झडप भएको थियो । तर, सेनापति नरभानेले सिक्किमको झडप र पिथौरागढको सडक निर्माणमा नेपालसँग उत्पन्न परिस्थितिबीच कुनै सम्बन्ध नभएको बताएका छन् ।-Photo Source: PTI