जेठ २, काठमाण्डौ । सरकारले कोरोनाको जोखिम न्युनिकरणको लागि भनेर लकडाउन लगाएको पनि करिब २ महिना पुग्न लागेको छ । यो समयमा सरकारले लकडाउनलाई मात्र बिकल्पको रुपमा लियो ।
कोरोना परिक्षण, विदेशबाट आएकालाई खोज्ने र भारतसँगको सिमानाकामा कडाई गर्नेतिर ध्यान नदिँदा नेपालमा कोरोना फैलिन थालेको छ । सरकारले चैतको पहिलो साता नै अन्तर्राष्ट्रिय उडान स्थगित गरे पनि नेपाल र भारतको सिमाना खुलै थियो ।
लकडाउनअघि भारतबाट हजारौं नेपाली स्वदेश फर्किए भने लकडाउनको समयमा पनि सिमाबाट लुकिछिपी हजारौ नेपाली स्वदेश फर्किए । उनीहरूबाट नै संक्रमणले भयाबह रुप लिन थालिसकेको छ । भारतमा संक्रमितको सन्ख्या बढ्दै जानु र नेपालले भारतसँगको सिमामा कडाइ गर्न नसक्दा जोखिम बढ्दै गएको जनस्वास्थ्यविद डा रविन्द्रनाथ पाण्डेय बताउँछन् ।
लकडाउन गरेपछि सरकारले कोरोनाको पिसीआर भन्दा पनि विश्वसनीय नमानिने आरडीटी परिक्षणलाई बढी प्राथमिकता दियो । दुई महिना पुग्न लाग्दासम्म जम्मा २३ हजार ९ सय १४ वटा पिसिआर परिक्षण गरिएको छ । यो ज्यादै न्युन संख्या हो । सरकारको कमजोरी यतिमै सिमित छैन ।
लकडाउनपछि काठमाण्डौ उपत्यका लगायत अन्य ठुला शहरमा कार्यरत मजदुरहरू सयौं किलोमिटर हिँडेर भएपनी पैदल घर फर्किए । उनीहरूलाई सरकारले बेलैमा न राहत दिन सक्यो, न घर फर्कने व्यवस्था ग¥यो । ति कामदारहरु कहिले गृह जिल्ला जाने त कहिले कार्यक्षेत्र फर्किन गर्दा कोरोनाको जोखिम बढेको छ । त्यसबाहेक सरकारले लकडाउन खुलेपछी के गर्ने भनेर कुनै तयारी पनि गरेको छैन ।
पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमित भेटिनु सामान्य जस्तै भइसक्यो । दिनप्रतिदिन संक्रमितको संख्या उकालो लागिरहेको छ । अझै पनि सरकारले आइसोलेसनसहितको उपचार कक्षको संख्या बढाउनमा चासो दिएको छैन । जसले गर्दा भोलिका दिनमा संक्रमितले उचित उपचार नै नपाउने हुन कि भन्ने चिन्तासमेत सुरु भएको छ ।