Logo

नीति तथा कार्यक्रम : सिँचाइ आयोजना प्राथमिकतामा



काठमाडौँ २ जेठ ।सरकारले आगामी आर्थिक वर्षमा कृषि उत्पादन बढाउने लक्ष्यका साथ सिँचाइ आयोजनालाई विशेष महत्व दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा सिक्टा, भेरी बबई जस्ता सिँचाइ आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर सञ्चालनमा ल्याउने र रानीजमरा कुलरिया सिँचाइ आयोजनाको शाखा नहरको विस्तार गरी सात हजार ५०० हेक्टरमा सिँचाइ सेवाको विस्तार गर्ने लक्ष्य राखिएको छ । महाकाली सिँचाइ आयोजना र प्रगन्ना तथा बड्कापथ सिँचाइ आयोजनाको मूल नहर विस्तार कार्य अगाडि बढाइने भएको छ ।

प्रदेश नं २ मा एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी आगामी आवमा सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँध र सुरुङ निर्माण शुरु गर्ने लक्ष्य निित तथा कार्यक्रममा राखेको छ ।

तराई मधेशका कृषियोग्य पकेट क्षेत्रमा सतह तथा भूमिगत सिँचाइको प्रयोगमार्फत समृद्ध तराई मधेश विशेष कार्यक्रम सञ्चालनमा ल्याउने र थप १८ हजार ५०० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरिने भएको छ । तमोर चिसाङ, माडी दाङ, कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाको अध्ययन सम्पन्न गरी सम्भाव्यता तथा प्राथमिकतामा आधारमा अगाडि बढाउने लक्ष्य राखेको सरकारले त्रियुगा नदी नियन्त्रण कार्यसमेत अगाडि बढाउने भएको छ । रासस File Photo



प्रतिक्रिया दिनुहोस्